Main News

वार्तामा आउन प्रधानन्यायाधीशले गरेको प्रस्ताव बारद्वारा अस्वीकार, प्रदर्शन कायमै

हिमालय टिभी
२०७८ कार्तिक २९ गते १३:१०
वार्तामा आउन प्रधानन्यायाधीशले गरेको प्रस्ताव बारद्वारा अस्वीकार, प्रदर्शन कायमै

२९ कात्तिक २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको वार्ता प्रस्तावलाई नेपाल बार एशोसिएशनले अस्वीकार गरेको छ ।

बारले प्रधानन्यायाधीश राणाको राजीनामाको अडान कायमै राखेको जनाउँदै वार्ताको औचित्य नभएको बताएको छ । बारका महासचिव लीलामणि पौडेलले वार्ताको अर्थ नभएको भन्दै राजीनामा मात्र अन्तिम विकल्प भएको बताउनुभयो ।

आज बिहान प्रधानन्यायाधीश राणाले विज्ञप्ती जारी गर्दै न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि आन्दोलनरत् कानून व्यवसायीहरुलाई वार्ताका लागि आव्हान गर्नुभएको थियो ।

उहाँले न्यायालय सुधारका लागि हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिकाले गठन गरेका आयोगका प्रतिवेदनहरू कार्यान्वयन गर्न आफू तयार रहेको उल्लेख गर्नुभएको छ । तर बारले प्रधानन्यायाधीश राणाको प्रस्ताव अस्वीकार गरेको छ ।

गत कात्तिक १४ गतेदेखि बार एशोसिएसनको अगुवाइमा आन्दोलन जारी छ । बारले प्रधानन्यायाधीश राणा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएको आरोप लगाउँदै आएको छ । कानून व्यवसायीहरुले न्यायालयको शुद्धिकरणका लागि राणाको राजीनामालाई पहिलो सर्त बनाएका छन् । तर, राणाले राजीनामा नदिने अडान राख्नुभएको छ ।

यसैबीच प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आज पनि कानून व्यवसायीले प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालत परिसरमा नेपाल बारको अगुवाइमा आज पनि प्रदर्शन भएको हो । आज सर्वोच्च अदालतभित्र प्रवेश गरेर प्रदर्शन गरेका कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो । केही कानून व्यवसायीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको थियो भने उनीहरुले प्रयोग गर्दै आएको माइक पनि प्रहरीले खोसेर लगेको छ ।

नेपाल बार एशोसिएशनका महासचिव लीलामणि पौड्यालले माइक फिर्ता गर्न र शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप नगर्न प्रहरीलाई आग्रह गर्नुभएको थियो । माइक नपाएपछि कानून व्यवसायीहरुले प्रदर्शनस्थलमा भाषण भने गरेका छैनन् । उनीहरु यथास्थानमा धर्नामा बसेका थिए ।

यसैबीच न्याय निरुपणको काम अवरुद्ध भएको विरोधमा सर्वोच्च अदालत परिसर बाहिर केही युवाहरुले आज पनि प्रदर्शन गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको समर्थनमा भएको प्रदर्शनमा सहभागिहरुले न्याय निरुपणको अधिकारबाट जनतालाई बञ्चित गराउने प्रयास भइरहेको भन्दै नाराबाजी गरेका थिए ।

उनीहरुले कानुन व्यवसायीहरुको जारी आन्दोलनका कारण न्याय निरुपणको काम अवरुद्ध भएको भन्दै भण्डाफोर अभियानमा उत्रिन बाध्य भएको बताए । प्रदर्शनमा सहभागी केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *