राजनीति

सर्वसम्मतिका लागि दबाव दिने एमाले कसरी लोकतान्त्रिक ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २८ गते २०:४५
सर्वसम्मतिका लागि दबाव दिने एमाले कसरी लोकतान्त्रिक ? (भिडियो रिपोर्टसहित)

२८ कात्तिक २०७८ काठमाडौं । नेकपा एमालेले आफूलाई लोकतान्त्रिक पार्टी भने पनि दशौँ महाधिवेशनअघि भएका विभिन्न तहका अधिवेशन र प्रतिनिधि छनोटमा सर्वसम्मतिको दबाव बढाएको छ । जसका कारण पार्टीभित्र आलोचनात्मक चेत भएकाहरु बाइपास हुने र चाकडी गर्नेहरु मौलाउने अवस्था देखिएको छ ।

फुटको पीडा र सरकारबाट ओर्लनुपरेको बेदनाले छटपटाइरहेको नेकपा एमालेले दलभित्रको आन्तरिक लोकतन्त्रमा समेत बन्देज लगाउन थालेको छ। नेकपा हुँदै निर्दलीय र निरंकुश शैली अपनाएको आरोप लागेका अध्यक्ष केपी ओलीले पार्टीका हरेक निकायमा निर्देशनमार्फतै चुन्ने र चुनिने अधिकारमाथि अंकुश लगाउन थाल्नु भएको छ।

पार्टीको दशौं महाधिवेशनबाट आफू मात्र होइन आफ्ना मात्रै चुन्न ओलीले सर्वसम्मतिको नाममा आन्तरिक लोकतन्त्रको घाँटी निमोठ्नुभएको हो । वडा र पालिका अधिवेशनमा समेत इच्छुकलाई होइन इच्छाइएकालाई मात्र जिताएका अध्यक्ष ओलीले कात्तिक २६ गते राति एक भिडियो सन्देश जारी गरेर कात्तिक २७ गतेको महाधिवेशन प्रतिनिधि छनोटलाई पनि सर्वसम्मत बनाउन अपिल गर्नुभयो ।

पार्टीको दशौँ महाधिवेशन गर्न जुटेको एमालेले यसअघि कात्तिक ६ गते देशभर एकैदिन वडा तथा शाखास्तरीय अधिवेशन गर्दा पनि नेतृत्व सर्वसम्मतिमै छनोट गरेको थियो । अध्यक्ष ओलीको अपिलपछि २७ गते पनि लगभग सबैजसो ठाउँबाट १९ सयभन्दा बढी महाधिवेशन प्रतिनिधि छिटफुटबाहेक सर्वसम्मत रुपमा छनोट गरिएको छ ।

सर्वसम्मतका नाममा पार्टीभित्रको सत्ताको चरम दुरुपयोग गरिएको असहमत नेताहरुले आरोप लगाए पनि एमालेमा ओलीको विरोधमा बोल्ने कसैको हिम्मत देखिएको छैन । असहमतलाई बाहुबल नै लगाएर भने पनि पाखा लगाउने र पार्टीलाई प्रालि बनाउन लागेको आरोप लागेका ओलीले २६ गते राति दिएको भिडियो सन्देशमा जस्तै गत असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा गरिएको विधान महाधिवेशनमा पनि पार्टीको नीति र विधान सर्वसम्मतिमै पारित गराउनु भएको थियो ।

‘सपेराले साँप’ नचाएजस्तो सर्वसम्मत र प्रतिनिधि छनौटले एमालेको आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनले पनि धेरैको प्रजातान्त्रिक अधिकार राप्तीमा मिल्काउने निश्चित भएको छ । ओलीले आफ्नो भिडियो सन्देशमा लोकतान्त्रिक अभ्यास भनेको जिम्मेवारीबोध र अनुशासनसहितको अभ्यास हो भन्नुभएको छ

ओलीले विगत निर्वाचनमा हारेकाहरुलाई चुनिएर आउन चुनौति दिनुहुन्थ्यो । चुनावमा हारेकाले अध्यक्ष मागेको भनेर वरिष्ठ नेता माधव नेपाललाई खिसिटिउरी गर्नुहुन्थ्यो । आफू निर्वाचित अध्यक्ष भनेर हुँकार गर्नुहुन्थ्यो ।

तर आफ्नै बोलीमा नटिकेर पुन अध्यक्ष बन्न लाग्नुभएका ओलीलाई सर्वशक्तिमान डिँगासँग कुनै झिँगाले प्रतिष्पर्धा गर्ला भन्ने डरैले उहाँको सर्वसम्मतिको फर्मूला सार्वजनिक भएको हो । पदका लागि एमाले रोजेका माओवादीका नेताको बैशाखीमा पार्टीमा बाँकी रहेका असहमत तह लगाउने र एक्लो महाराज बन्ने ओली आकाँक्षाका लागि पनि सर्वसम्मति निःसर्त हतियार हो । आफ्नो आवश्यकता अनुसार ओलीले सर्वसम्मतिको बाजा बजाउँदा पार्टीभित्रको लोकतन्त्र भने मर्ने दिशामा मात्र गएको छैन पार्टीभित्रका असहमतहरु पाखा लाग्ने अवस्था बनेको छ। ओलीको सर्वसहमतिको झोलीले एकीकृत समाजवादीको ढडिया भने भरिने सम्भावना बढेर गएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्