Main News

इन्धनमा मूल्यवृद्धिः विद्यार्थी आन्दोलनमा, सरकार र दल मूकदर्शक किन ?(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २८ गते २०:३८
इन्धनमा मूल्यवृद्धिः विद्यार्थी आन्दोलनमा, सरकार र दल मूकदर्शक किन ?(भिडियो रिपोर्टसहित)

२८ कात्तिक २०७८ काठमाडौं । पेट्रोलियम पदार्थको लगातार मूल्य बढ्दा पनि सरकार र राजनीतिक दलहरु बोलेका छैनन् । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले नेपालमा पनि बढाउनुपरेको भन्दै आयल निगम पन्छिने गरेको छ । बल्ल विभिन्न दल सम्बद्ध विद्यार्थी संगठनहरुले विरोध सुरु गरेका छन् ।

गत १२ दिनको अन्तरालमै नेपाल आयल निगमले २ पटक पेट्रोलियम पदार्थको मूल्य बढायो । कार्तिक महिनाको १५ गते र २४ गते पेट्रोल, डिजेल र मट्टितेलमा ३ –३ रुपैयाँ र खाना पकाउने ग्यास सिलिण्डिरमा पहिलो पटक ५० रुपैयाँ र दोस्रो पटक ७५ रुपैयाँको दरले मूल्य बढाइयो ।

स्वचालित मूल्य प्रणाली अपनाएको दाबी गर्ने आयल निगमको सञ्चालक समितिको बैठकबाटै मूल्य बढाइरहेको छ । मूल्यवृद्धि हुँदा दलहरु मौन छन् । बल्लतल्ल दल सम्बद्ध विद्यार्थी संगठनहरु विरोधमा उत्रिएका छन् । आइतबार संयुक्त विद्यार्थी संगठनले प्रर्दशनी मार्गस्थित आरआर क्याम्पस अगाडी खाली सिलिण्डर टाउकोमा बोकेर र चम्चाले थाल ठटाउँदै विरोध गर्यो ।

आमनागरिकको ढाड सेक्ने गरी मूल्य बढाएको विरोधमा सत्तारुढ र विपक्षी विद्यार्थी संगठनहरु एकै ठाउँमा उभिएका छन् । उनीहरुले तत्काल मूल्यवृद्धि फिर्ता लिन पनि माग गरेका छन् ।

सरकारले आफ्नो माग पूरा नगरे आन्दोलन चर्काउने विद्यार्थी संगठनहरुको चेतावनी छ ।

कोरोनाका कारण आर्थिक क्रियाकलापमा थला परेका नागरिकलाई राहत दिने गरी सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाउन हुँदैन थियो । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएर जनताको ढाड सेक्ने काम गरेको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ । यसको विरोधमा सडक आन्दोलन नै हुन थालेका छन् । सरकारले बेलैमा ध्यान पुर्याउन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *