Main News

नेपाल बारले आजबाट देशभर आन्दोलन गर्दै, प्रधानन्यायाधीशलाई गेटमै रोक्ने तयारी

हिमालय टिभी
२०७८ कार्तिक २८ गते ८:५४
नेपाल बारले आजबाट देशभर आन्दोलन गर्दै, प्रधानन्यायाधीशलाई गेटमै रोक्ने तयारी

२८ कात्तिक २०७८ काठमाडौं । नेपाल बार एशोसिएशनले आजबाट देशभर आन्दोलन गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै बारले आजबाट देशभर आन्दोलन गर्ने भएको हो ।

बारले आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने तयारी गरेको छ । जबराको राजीनामा माग गर्दै दुई सातादेखि आन्दोलन गरिरहेको बारले गत शुक्रबार गेटमै धर्ना दिएर जबराको प्रवेश रोक्ने प्रयास गरेको थियो । तर, जबरा अर्को गेटबाट सर्वोच्च प्रवेश गर्नुभएको थियो ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आज पनि जबरालाई सर्वोच्च प्रवेशमा निषेध गर्न धर्ना दिने बताउनुभयो । सर्वोच्च अदालत बार एशोसिएशनका सचिव ऋषिराम घिमिरेले पनि जबराको राजीनामा माग गर्दै बारले घोषणा गरेको कार्यक्रम यथावत् रहेको बताउनुभयो ।

उहाँले आज बिहान साढे ९ देखि साढे ११ बजेसम्म प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने प्रवेशद्वारमै धर्ना दिइने बताउनुभयो । नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।

सर्वोच्च अदालतका २० मध्ये प्रधानन्यायाधीशबाहेक १९ जना न्यायाधीशले पनि उहाँको राजीनामा माग गरिरहेका छन् । त्यसैको विरोधस्वरूप कात्तिक ८ देखि जबराले बोलाएको फुलकोर्ट बैठक बहिष्कार गर्दै आउनुभएको छ भने जबराले तोक्नुभएको इजलास पनि बसेको छैन ।

बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाइ गर्दै आएका उनीहरूले त्यसको सुनुवाइमा समेत प्रधानन्यायाधीश जबरासँग इजलासमा बसेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *