Main News

बेथितिका कारण आयल निगम सधैं बदनाम, तर घाटाको रटान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २७ गते २०:३३
बेथितिका कारण आयल निगम सधैं बदनाम, तर घाटाको रटान (भिडियो रिपोर्टसहित)

२७ कात्तिक २०७८ काठमाडौं । पेट्रोलियम पदार्थ आपूर्ति गर्ने एक मात्र निकाय हो, नेपाल आयल निगम । नेपालमा इन्धन आपूर्तिको एकाधिकार पाएको निगमले घाटाको रटान लगाउँदै आएको छ । बेथितिका कारण निगम सधैं बद्नाम हुने गरेको विद्यार्थी नेताहरुको आरोप छ ।

इन्धन आपूर्ति गर्ने एक मात्र कम्पनी नेपाल आयल निगम सरकारको ‘दुहुनो गाई’ जस्तै छ । जब राजश्व बढाउने आवश्यकता पर्छ तब सरकारले सुरुमा इन्धनको मूल्य बढाइदिन्छ । निगमले ८३ रुपैयाँ प्रतिलिटरमा पेट्रोल खरिद गर्दा विभिन्न शीर्षकमा सरकारले ५७ रुपैयाँ कर असुल्छ । निगमले १ सय ३६ रुपैयाँमा बेच्छ ।

खरिद मूल्यभन्दा विक्रि मूल्य झण्डै दोब्बर हुँदा पनि सधै घाटामा रहेको दाबी गर्ने निगमले कर्मचारीलाई बोनस बाँड्न छाडेको छैन । महालेखा परीक्षकको ५८ औं प्रतिवेदनमा आर्थिक वर्ष २०७६÷७७ मा मात्र १७ करोड ४२ लाख रुपैयाँ बोनस वितरण गरेको उल्लेख छ । यो मात्र होइन, निगमले पहुँचवालाहरुलाई कुपन मार्फत इन्धन उपलब्ध गराउदै आएको छ ।

सानादेखि ठूला–ठूला विवादास्पद कामले निगम बदनाम हुँदै आएको छ । भण्डारण क्षमता विस्तारको नाममा जग्गा खरिदमा अनिमियता, इन्धन तस्करीमा बिचौलियासंग मिलोमतो जस्ता घटनाले निगममाथि प्रश्न उठ्ने गरेको छ ।

व्यवसायीसँग मिलोमतो गर्दै अनियमितताको जालोमा निगम कसिंदै गएको छ । स्वचालित मूल्य प्रणाली लागु गरेको दाबी गर्ने निगमले हरेक अंग्रेजी महिनाको १ र १६ तारिखमा मूल्य बढाउने गर्छ । यसले मूल्य बढ्ने कुरामा व्यवसायीहरु जानकार हुन्छन्, जसका कारण पेट्रोलियम पदार्थको कृत्रिम हाहाकार उत्पन्न गराइन्छ ।

निगम नाफाको पैसा बैंकमा राखेर व्याज खाने तर आपूर्ति सहजताको लागि कहिल्यै गम्भिर भएको देखिदैन । इन्धन आपूर्तिमा एकधिकार हुदाँ हुदै पनि निगमले आफनो व्यवसायिकता प्रदर्शन गर्न सकेको छैन ।

विभिन्न शीर्षकमा सरकारले लिने कर पनि पारदर्शी छैन । कुन शीर्षकमा कति कर वापत उठेको रकम खर्च भयो, आम उपभोक्तालाई जानकारी नै हुँदैन ।

निगमले आफ्नो बेतिथी हटाउनु भन्दा पटक पटक मूल्य बढाएर जनतालाई महंगीको मारमा पार्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *