Main News

सर्वोच्च अदालत परिसरमा तनाव : आज सर्वोच्चमा जे देखियो…(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २६ गते २०:४४
सर्वोच्च अदालत परिसरमा तनाव : आज सर्वोच्चमा जे देखियो…(भिडियो रिपोर्टसहित)

२६ कात्तिक २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानून व्यवसायीहरुले आन्दोलन थप कडा पारेका छन् ।

कानून व्यवसायीहरुले आज प्रधानन्यायाधीश राणालाई सर्वोच्च छिर्नै नदिने तयारी गरेका थिए तर राणाले अर्कैबाटो समातेपछि सर्वोच्चमा छिर्न नदिने योजनामा कानून व्यवसायीहरु सफल भएनन् । त्यसपछिका घटनाक्रमले आज सर्वोच्च परिसर तनावपूर्ण बन्यो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्नै नदिने भन्दै नेपाल बार एशोसिएशनको नेतृत्वमा कानून व्यवसायीहरु बिहानै भेला भएका थिए ।

१० बजे बारको कार्यालयबाट जुलुशसहित प्रधान्यायाधीलाई रोक्न कानून व्यवसायीहरु सर्वोच्चको मुख्य गेटमा धर्नमा बसे ।

सर्वोच्च परिसरमा त्यसअघि नै केही महिला थिए । उनीहरुले बारको आन्दोलनको विरोध गरे । त्यसपछि झडपको स्थिति आयो । धर्नामा बसेका एक जना कानून व्यवसायीले त ती महिलालाई यसरी लात्तीले नै हाने ।

अश्लिल शब्द प्रयोग गरे । आक्रमण नै हुने स्थिति आएपछि प्रहरीले उनीहरुलाई आफ्नो गाडीमा राखेर सुरक्षा दियो ।

सर्वोच्च अगाडिको सडकमा काला कोटधारी वकिल र बर्दी लगाएका सुरक्षाकर्मीबीच घम्साघम्सी चलिरहेको थियो । माइतीघर देखि सिंहदरबारसम्मको सडकमा गाडी बन्द थिए ।

यही बेला प्रदर्शनकारीलाई छक्याउँदै प्रधानन्यायाधीश महान्यायाधीवक्ताको कार्यालय नजिकको गेटबाट सर्वोच्च छिर्नुभयो ।

बाहिर धर्ना र नाराजुलश जारी थियो । प्रधान्यायाधीश आफ्नो कार्यकक्षमा पुग्नुभयो र उहाँले इजलास पनि गठन गर्नुभयो । यो थाहा पाएपछि आन्दोलनरत कानुन व्यवासायी झनै आक्रोशित भए ।

कानून व्यवसायीको धर्नाले सर्वोच्च अदालत र राम शाह पथ क्षेत्रमा तनाव बढ्दै गएपछि सुरक्षाकर्मी थपिँदै गए । सुरक्षाकर्मी थपिएपछि आक्रोशित बनेका कानुन व्यवसायीले धर्नास्थलबाटै गृहमन्त्री बालकृष्ण खाँणलाई फोन गरे । सर्वोच्च अदालत परिसरबाट सुरक्षाकर्मी आधा घण्टाभित्रमा हटाउन दबाब दिए ।

यो आग्रहपछि सर्वोच्च परिसरमा सुरक्षाकर्मीको संख्या घट्दै गयो । आक्रोशित कानून व्यवसायीको आक्रोश कम हुँदै गयो र तनाव पनि । तर आज प्रधान्यायाधीश राणालाई सर्वोच्च पस्नबाट रोक्न असफल भएका कानून व्यवसायीले आइतबार पनि अवरोध गर्ने घोषणा गरेका छन् । र उनीहरुले प्रधान्यायाधीश राणाको राजीनामा नै अन्तिम बिकल्प रहेको बताउँदै आएका छन् ।

केही दिनयता न्यायालयमा देखिएको यो घम्साघम्सीमा राजनीतिक नेतृत्व भने मुकदर्शक बनिरहेको छ । प्रधानन्यायाधीशको विरोधमा उत्रिएकाहरु कि राजीनामा कि महाअभियोगको नारा लगाइरहेका छन् । तर महाअभियोग लगाउने संसद अहिले बन्द छ भने दलहरु रमिते बन्दा न्याय क्षेत्र दिनप्रतिदिन अस्तव्यस्त बन्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *