Main News

विपी स्वास्थ्य प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्न छानबिन समितिको सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २६ गते १६:२७
विपी स्वास्थ्य प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्न छानबिन समितिको सुझाव (भिडियो रिपोर्टसहित)

२६ कात्तिक २०७८ काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको अनियमितता छानबिन गर्न गठित समितिले त्यहाँका पदािधकारीहरुलाई कारबाही गर्न सिफारिस गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाको संयोजकत्वको तीन सदस्यीय समितिले प्रतिष्ठानकाका पदाधिकारीलाई कारबाही गर्न सिफारिससहितको प्रतिवेदन कूलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो ।

अनियमितताका आरोप लागेका पदाधिकारीले आफ्नो पदीय दायित्व र आचरण अनुसारको काम नगरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरिएको छ ।

प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग स्वास्थ्यमन्त्री खतिवडाले अबको हप्तादिन भित्र प्रतिष्ठानको समस्या समाधान हुने दाबी गर्नुभयो । उहाँले यो प्रतिवेदन यसअघिका प्रतिवेदन र आन्दोलनरत पक्षका कुराहरुलाई छलफल गरेर बनाइएको बताउनुभयो ।

स्वास्थ्यमन्त्री खतिवडाको संयोजकत्वमा बनेको समितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोखरेल, धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई हुनुहुन्छ ।

प्रतिष्ठानका चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले शैक्षिक, आर्थिक प्रशासनिक र स्वास्थ्य सेवा सुधार हुनुपर्ने, अनियमितताको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै चार महिनायता निरन्तर आन्दोलन गरिरहेका छन् ।

आन्दोलन थप चर्किंदै गएपछि सरकारले वार्ता टोली गठन गरेर आन्दोलनकारीको माग सम्बोधन गर्ने सहमति गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *