Main News

पहाडमा पनि यसरी लोकप्रिय बन्दै छठ पर्व (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २४ गते २१:०८
पहाडमा पनि यसरी लोकप्रिय बन्दै छठ पर्व (भिडियो रिपोर्टसहित)

२४ कात्तिक २०७८ काठमाडौं । मिथिलाञ्चल र मधेशी समुदायमा विशेष आस्थाका साथ मनाइने छठ पर्व पछिल्लो समय अन्य समुदायमा पनि लोकप्रिय बन्दै गएको छ ।

तराईमा बसोबास गर्ने पहाडे समुदाय र काठमाडौं उपत्यका लगायत पहाडी जिल्लामा पनि छठ पर्व मनाउनेहरुको संख्या बढ्दैछ । यसले छठ पर्वको लोकप्रियता बढाएको प्रष्ट पार्छ ।

एक दशक अघिसम्म पनि छठ पर्व मधेसी समुदायले मात्र विशेष आस्थाका साथ ब्रत उपासना गरी मनाउने गर्थे । तर, पछिल्लो समय अन्य समुदायमा पनि धुमधामका साथ छठ मनाउने चलन बढ्दै गएको छ । पहाडे समुदायको बसोबास रहेको क्षेत्र तथा काठमाडौं उपत्यका र केही पहाडी क्षेत्रका नदी, पोखरी, तलाउहरुमा छठको रौनक बढेको छ ।

पवित्र मनले सूर्यको उपासना गर्नाले सन्तान सुख प्राप्त हुने, रोग व्याध निदान हुने, दुःख र दरिद्रताबाट मुक्त हुने, पारिवारिक सुख प्राप्ती हुनुकासाथै मनोकांक्षा समेत पूरा हुने धार्मिक विश्वास रहेका कारण पनि छठको लोकप्रियता बढेको हो ।

सूर्यको उपासना गरी मनाउने यो पर्व हिन्दू धर्ममा मात्र पनि सीमित छैन । मुस्लिम धर्मावलम्वीको आस्था पनि यो पर्वप्रति बढ्दो छ । धर्म, जातजाति, वर्ग र क्षेत्रको विवधतायुक्त देशमा रोजगारी, शिक्षा, स्वास्थ्य तथा राम्रो सेवा सुविधाको खोजीमा हुने बसाइसराइले भएको साँस्कृतिक आदानप्रदानले पनि पर्वको दायरा फराकिलो बन्दै गएको हो ।

जे होस् बहुभाषिक ,बहुसाँस्कृतिक, बहुधार्मिकजस्ता विविधतायुक्त देश नेपालका हरेक चाड पर्वले एकआपसमा आत्मीयता र एकतालाई झल्काएको छ । अझ यसले सद्भाव कायम गरी भाइचारा स्थापित गर्न र धार्मिक सहिष्णुता प्रवर्द्धन गर्न ठूलो टेवा पुराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *