Main News

नेताहरुलाई किन तर्साउछ बेलाबेला राजतन्त्रको भूतले ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २४ गते २१:००
नेताहरुलाई किन तर्साउछ बेलाबेला राजतन्त्रको भूतले ? (भिडियो रिपोर्टसहित)

२४ कात्तिक २०७८ काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह निर्मल निवासमा शान्तसँग बसिरहनु भएको छ । शाहको हैसियत अहिले पूर्वराजा र एक नागरिकको मात्रै हो । न उहाँसँग कुनै कार्यकारी अधिकार छ न कुनै पदीय हैसियत छ ।

तर आफूलाई गणतन्त्रको पहरेदार भन्ने नेताहरुले बेलाबेला शाहलाई जिस्काउने र उचाल्ने गरी सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । बुधबार त देशको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री शेरबहादुर देउवाले शासन गर्ने भए चुनाव लडेर आउन भन्दै पूर्वराजा शाहलाई चुनौती नै दिनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई खाँटी गणतन्त्रवादी भन्न रुचाउनु हुन्छ । उहाँका अभिव्यक्तिहरु सुन्दा गणतन्त्रको चिन्ता कसैलाई छ भने दाहाललाई नै छ भन्ने लाग्छ । त्यसैले त उहाँलाई गणतन्त्र उल्टिएला कि भन्ने चिन्ता छ ।

गत कात्तिक १५ गते उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजावादीहरुसँग मिलेर गणतन्त्र उल्टाउन लागिपरेको आरोप नै लगाउनु भयो । पूर्वराजा र राजावादीसँग जोडेर प्रचण्डको अभिव्यक्ति आएको यो पहिलो पटक होइन । त्यसअघि नै प्रचण्डले निर्मलनिवासबाट हटाएर पूर्वराजालाई नागार्जुन लखेट्ने अभिव्यक्ति दिनु भएको थियो ।

प्रचण्डसँग मिल्दोजुल्दो अभिव्यक्ति देशका कार्यकारी प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिनु भएको छ । गणतन्त्रविरुद्ध नलाग्न सचेत गराउनु भएका प्रधानमन्त्री देउवाले शासन गर्ने भए चुनाव लडेर आउन पूर्वराजा शाहलाई चेतावनी नै दिनु भयो ।

तत्कालीन समयमा प्रजातन्त्र बाहेक सबै राजालाई बुझाउन तयार रहेको भन्दा पूर्व राजाले आफूलाई जेल कोचेको देउवाको आरोप छ। जेल कोचेको सम्झेर थप आक्रोशित बनेका देउवाले पूर्वराजाप्रति दिएको अभिव्यक्ति आक्रोश मात्रै हो या साँच्चै गणतन्त्र खतरामै छ त ?

जानकारहरुका अनुसार राजतन्त्र फर्किन्छ भन्नेमा स्वयंम पूर्वराजा शाहलाई समेत विश्वास छैन । त्यसो भए नेताहरुले किन पटक पटक पूर्वराजाका विरुद्ध अभिव्यक्ति दिन्छन् त ? सार्वजनिक खपतका लागि मात्रै नेताहरुले बेला मौकामा गणतन्त्र, शासन व्यवस्था खतरामा रहेको बताउने गरेको विश्लेषकहरुको मत छ । कतिपय अवस्थामा पूर्वराजाप्रति नेताहरुको स्वभाविक आक्रोश पनि अभिव्यक्त हुने गरेको छ ।

यसो त पूर्वराजा शाहले पनि बेलाबेला विज्ञप्ति जारी गरेर नेताहरुलाई चिढाउने काम गरेको कतिपयको बुझाई छ । हालै मात्रै बडा दशैंको अवसरमा पूर्वराजाले सन्देश जारी गर्नु भएको थियो । सन्देशमा उहाँले प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्था विनाको प्रजातन्त्र नेपालका लागि सान्दर्भिक नभएको दाबी गर्नु भएको थियो ।

अझै पनि आफ्नो आवश्यकता देशका लागि छ भन्ने शाहको अभिव्यक्तिबाट प्रष्ट हुन्छ ।पूर्वराजा शाहले महत्वपूर्ण अवसरहरुमा आफ्नो तर्फबाट देशबासीका नाममा सन्देश जारी गर्दै आउनु भएको छ । मुलुकमा गणतन्त्र स्थापना भएको झण्डै डेढ दशक बढी समय भैसक्दा पनि अझै पनि गणतन्त्र धरापमा छ भन्ने जिम्मेवार नेताहरुबाट अभिव्यक्ति आउँदा देशको राजनीतिक स्थिरता र शासन व्यवस्था माथि नै प्रश्न चिन्ह खडा हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *