Main News

माधव समूह पार्टी छोडेर गए पनि एमालेमा रोकिएन विवाद (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २३ गते २०:५१
माधव समूह पार्टी छोडेर गए पनि एमालेमा रोकिएन विवाद (भिडियो रिपोर्टसहित)

२३ कात्तिक २०७८ काठमाडौं । माधवकुमार नेपाल समूहले पार्टी छोडेर गए पनि नेकपा एमालेमा विवाद रोकिएको छैन । महाधिवेशनको तयारीमा जुटेको एमालेमा दश बुँदे कार्यान्वयनकै विषय विवादमा छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली दश बुँदे सहमति कार्यान्वयनमा इमान्दार नबनेको भन्दै उपाध्यक्ष भीम रावलले राजीनामादेखि बैठक बहिष्कारसम्म गर्नुभएको छ । तर, ओली पक्षीय नेताहरु दश बुँदे सहमति कार्यान्वयनको अडान राख्न नहुने पक्षमा छन ।

२०७५ जेठ २ अर्थात एमाले र नेकपा माओवादी केन्द्रको एकताअघिकै अवस्थामा पार्टी संरचना कायम रहने गरी दश बुँदे सहमति गरेका दश नेताहरु एमाले मै रहे । त्यसैमध्येका एक नेता भीम रावल पनि हुनुहुन्छ । तर, रावल अहिले पार्टी नेतृत्वसँग असन्तुष्ट हुनुहुन्छ ।

उहाँले दश बुँदे सहमति कार्यान्वयन गर्न बनाइएको कार्यदलको संयोजकबाट राजीनामा मात्र दिनुभएन, मंगलबार बोलाइएको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बहिष्कार नै गर्नुभयो । नेपाल पक्षलाई साथ दिंदै आएका दश नेतामध्ये रावल र उपमहासचिव घनश्याम भुसाल असन्तुष्ट हुनुहुन्छ तर, बाँकी आठ नेता मौन छन । रावल र भुसालले पार्टी अध्यक्ष ओली इमान्दार नरहेको बताउँदै आउनुभएको छ ।

अध्यक्ष ओली पक्षका नेताहरुले नयाँ नेतृत्व चयनको प्रक्रिया प्रारम्भ भइसकेकाले दश बुँदेको रटान अनावश्यक भएको बताउँदै आएका छन् । जेठ ३ अघिकै अवस्थाभन्दा नयाँ नेतृत्वमा बहस हुनुपर्ने ओली पक्षका नेताहरुको तर्क छ । रावल र भुसालले असन्तुष्टि राखे पनि ओलीलाई दश बुँदे सहमति अक्षरसः कार्यान्वयनमा अप्ठ्यारो छ ।

ओलीले हालको एमाले नेकपाकै निरन्तरता भएको बताउँदै आउनुले उहाँ माओवादीबाट एमालेमै रहेका नेताहरुलाई पनि विश्वासमा लिने प्रयासका रुपमा बुझ्न सकिन्छ । पूर्वमाओवादीहरुलाई विश्वासमा लिनका लागि ओलीलाई आफ्नै गुटबाट पनि दबाब रहँदै आएको छ । त्यसैले एमाले विवाद कम्तिमा महाधिवेशनसम्म कायमै रहने प्रष्ट छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *