Main News

निर्मला कुर्मी प्रकरण : ‘आरोपित पूर्वसांसदलाई कांग्रेसको संरक्षण’ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २३ गते २०:४१
निर्मला कुर्मी प्रकरण : ‘आरोपित पूर्वसांसदलाई कांग्रेसको संरक्षण’ (भिडियो रिपोर्टसहित)

२३ कात्तिक २०७८ बाँके । नेपालगन्जकी निर्मला कुर्मीलाई बेपत्ता पारी करोडौं मूल्यको जग्गा हडपेको आरोप लागेका बाँकेका पूर्व सांसद बादशाह कुर्मीलाई प्रहरीले पक्राउ नगरेको भन्दै महिला अधिकार मन्च बाँकेले पुनः आन्दोलनमा उत्रने चेतावनी दिएको छ । मंचकी पूर्व महासचिव रुबि खानले अपहरण तथा हत्याको घटनामा संलग्न मुख्य आरोपित पूर्वसांसद कुर्मीलाई सत्तारुढ दल नेपाली कांग्रेसको संरक्षण भएको कारण पक्राउ नगरिएको आरोप लगाउनुभयो ।

बाँके प्रहरीले निर्मला कुर्मीको अपहरण गरी हत्या गरेको आरोप लागेका ८ मध्ये आइतबार रमेश थापासहित ७ जना अभियुक्तलाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये ८० बर्षिय कुबर बब्बन सिंह हाजिर जमानीमा जिल्ला अदालतबाट छुटेका थिए । अन्य ६ जनालाई जिल्ला अदालत बाँकेले ७ दिनको म्याद थप गरी प्रहरीलाई अनुसन्धान गर्न आदेश दिएको छ ।

मुख्य आरोपित व्यक्तिलाई हाजिर जमानीमा छाड्दा अनुसन्धान प्रभावित हुने भन्दै महिला अधिकारकर्मीहरुले अन्य आरोपित व्यक्तिलाई सरह पूर्वसांसद बादशाह कुर्मीलाई पनि पक्राउ गरेर अनुसन्धान गर्नु पर्ने माग गरेको छ । पूर्वसांसद कुर्मीलाई कार्तिक २६ गते भित्र पक्राउ नगरिए २७ गतेदेखि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने लगायतका आन्दोलन गर्ने अधिकारकर्मीको चेतावनी छ।

कुर्मीलाई न्याय दिन र दोषीलाई कारवाही गर्न माग गर्दै महिला अधिकारकर्मी रुबि खानसहित अधिकारकर्मीको टोलीले नेपालगन्जदेखि पैदल यात्रा गरी काठमान्डौंमा पुगेर अनशन गरेको थियो ।

महिला अधिकारकर्मीको आन्दोलनपछि निर्मला कुर्मी घटनामा छानविनका लागि कार्तिक २ गते गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो । समितिले घटनामा संलग्नलाई पक्राउ गरि छानबिन गर्न सुझावसहित कार्तिक १४ गते गृहमन्त्रीलाई प्रतिवेदन बुझाए पनि मुख्य आरोपित कुर्मीलाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन ।

आफूमाथि मुद्दा परेको थाहा पाए पछि भदौ १० गते आफैं जिल्ला प्रहरी कार्यालय बाँकेमा बयान दिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले कुर्मीलाई हाजिर जमानीमा छाडेको छ। सत्तारुढ दलको नेता भएका कारण प्रहरी प्रशासनलाई दबाब दिएर हाजिरी जमानीमा छुटेको भन्ने आरोप गलत भएको कुर्मीको जवाफ छ ।

नेपालगन्ज परस्पुरकी बेपत्ता निर्मलाको साढे ४ बिघा घरजग्गा भूमाफियाले किर्ते कागज, जालझेल गरी नामसारी गरी हड्पेको तथ्य छानबिन समितिले फेला पारेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *