Main News

भारत भ्रमणमा रहनु भएका प्रधानसेनापति शर्मा र भारतीय स्थल सेनाध्यक्ष नरवणेबीच भेटवार्ता

हिमालय टिभी
२०७८ कार्तिक २३ गते १९:००
भारत भ्रमणमा रहनु भएका प्रधानसेनापति शर्मा र भारतीय स्थल सेनाध्यक्ष नरवणेबीच भेटवार्ता

२३ कात्तिक २०७८ काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेसँग भेटवार्ता गर्नुभएको छ ।

साउथ ब्लकमा भएको भेटमा प्रधानसेनापति शर्मा र भारतका सेनाध्यक्ष नरवणेबीच भेटवार्ता भएको हो । भारतका सेनाध्यक्ष नरवणेको निमन्त्रणामा शर्मा भारत भ्रमणमा जानुभएको हो । प्रधानसेनापति शर्मालाई भोलि भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ ।

नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ । नेपालका तत्कालिन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा पहिलो पटक भारतीय सेनाको मनार्थ महारथीको दर्जाबाट विभूषित गरिएको थियो ।

प्रधानसेनापति भएपछि शर्माको यो पहिलो विदेश भ्रमण हो । शर्माले आफ्नो भारत भ्रमणको शुरूआतमा नयाँ दिल्लीको इंडिया गेटस्थित अमर जवान ज्योतिमा पुष्पांजलि अर्पण गर्नुभएको छ । भारत भ्रमणमा शर्माले उच्चस्तरीय भेटवार्ता गर्ने जनाइएको छ ।

शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरसँग पनि भेट गराउन पहल भैरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । तर, भेट्ने निश्चित भइसकेको छैन । शर्माले भारतीय जल तथा हवाइ सेनाका प्रमुखहरुसँग पनि भेटवार्ता गर्ने तय भएको छ ।

शर्माले चिफ अफ डिफेन्स स्टाफ बिपिन रावत तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेटवार्ता गर्नुहुनेछ । आज विहान भारत भ्रमणमा गएको प्रधानसेनापति शर्माको ९ सदस्यीय भ्रमण टोली कात्तिक २६ गते स्वदेश फर्कने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *