कोप–२६ मा सहभागी भएर प्रधानमन्त्री देउवा स्वदेश फिर्ता
१८ कात्तिक २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, जलवायु परिवर्तनसम्बन्धी २६औं अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा सहभागी भएर स्वदेश फर्कनुभएको छ ।
स्कटल्यान्डको ग्लास्गोमा भइरहेकोसम्मेलनमा सहभागी हुन गत शुक्रबार त्यसतर्फ गएको टोली केहीबेरअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।
प्रधानमन्त्री देउवाले सम्मेलनमा अस्ति मंगलबार सम्बोधन गर्दै उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु सङ्कटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय क्षेत्रका मुद्दालाई उच्च प्राथमिकतामा राख्न आग्रह गर्नुभएको थियो ।
उहाँले हिमाली क्षेत्रमा तीव्र गतिमा उष्णता बढेर समग्र दक्षिण एशियामै खाद्य, जल, ऊर्जा र मानवीय सुरक्षामा गम्भीर चुनौती उत्पन्न भएको तथा हिमतालहरू पग्लेर समुद्री सतह बढ्दा तटीय र टापु राष्ट्रहरूको अस्तित्व सङ्कटमा पर्न थालेको पनि बताउनुभयो ।
प्रतिक्रिया