राजनीति

संघदेखि प्रदेशसम्म एमाले सरकार ढलेपछि…(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १६ गते २०:५२
संघदेखि प्रदेशसम्म एमाले सरकार ढलेपछि…(भिडियो रिपोर्टसहित)

१६ कात्तिक २०७८ काठमाडौं । जनताले विकास र राजनीतिक स्थिरताका लागि दुई तिहाई बहुमतसहित ५ वर्ष सरकार सञ्चालन गर्न कम्युनिष्ट नेतृत्वलाई मत दिएका थिए । तर जनताले न राजनीतिक स्थिरता देख्न पाए न त विकास नै।

राजनीतिक खिचातानीका कारण संघदेखि प्रदेशसम्मका एमाले सरकार चार वर्षमै गर्ल्यामगुर्लुम्म ढले । प्रदेशहरुमा अहिले नयाँ सरकार बनिरहेका छन् । बारम्बारको सरकार परिवर्तन र अघिल्ला सरकारले गरेका कामको स्वामित्व नयाँ सरकारले नलिने नेतृत्वको प्रवृत्तिका कारण विकासमा काम ठप्प जस्तै बन्न पुगेका छन् ।

लामो समयसम्मको राजनीतिक अस्थिरतापछि बहुमतको सरकार गठन भएपछि देश समृद्ध बन्ने अपेक्षा गरेका नागरिक दलहरुबीचको खिचातानी तथा सरकार बनाउने र भत्काउने लडाइका कारण पुन आजित बन्न थालेका छन् ।

राजनीतिक भागबण्डामा दलहरु अल्झदा जनताको विकासको चाहनामा तुषारापात भएको छ । एउटा सरकारले ल्याएको योजनाको स्वामित्व अर्को सरकारले नलिने प्रवृत्ति संघीय सरकारमा मात्र हैन प्रदेश सरकारहरुमा पनि बढेको छ । यसले देशमा हुनु पर्ने विकासका काममा ढिलो भएको छ । जसले देश नै पछाडी धकेलिने जोखिम बढ्दो छ ।

अघिल्ला सरकारले ल्याएको बजेट नयाँ सरकारले आफू अनुकुल संशोधन गर्ने परम्परा जस्तै बनेको छ । केन्द्रदेखि प्रदेशसम्म यही समस्या छ । यसले गर्दा समयक्रमसँगै आउने विकास वाहेक कुनै पनि सरकारले योजनाबद्ध काम गरेका छैनन् । विकासलाई बिकेन्द्रीकरणका लागि संघीयता अपनाइए पनि राजनीतिक किचलोकै कारण विकास सुस्त बनेको छ ।

केन्द्रदेखि प्रदेश सरकार परिवर्तनसँगै बजेट संशोधन तथा बजेट पारित हुन समेत समय लागेको कारण विकास निर्माणको काममा प्रत्यक्ष प्रभाव परेको हो ।

यस भन्दा अघिको केपी ओली नेतृत्वको सरकारले पूर्वतयारी नगरी विकास गरेको देखाउनकै लागि धेरै आयोजनाको उद्घाटन र शिलान्यास गरेको थियो । बालुवाटारको कोठाबाटै ओलीले १ सय ६५ वटा सडक उद्घाटन गर्ने फन्डा समेत अपनाउनुभयो ।

उद्घाटन र शिलान्यास विकास गर्ने भन्दा पनि देखाउने अस्त्रको रुपमा प्रयोग भयो । ओलीले उद्घाटन र शिलान्यास गरेका कतिपय आयोजना अहिलेको शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज नै गरेको छ ।

अहिलेको सरकार दीर्घकालिन विकासको योजना बनाउन भन्दा पनि राजनीतिक हिसाव किताव मिलाउनमै व्यस्त छ । सरकारको नेतृत्वमा रहेको यस्तो प्रवृतिमा सुधार नआएसम्म देशको मुहार फेरिएको हेर्न नागरिकले अझै धेरै बर्ष कुर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्