Main News

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ आज पनि प्रभावित

हिमालय टिभी
२०७८ कार्तिक १६ गते १८:१७
सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ आज पनि प्रभावित

१६ कात्तिक २०७८ काठमाडौं । सर्वोच्च अदालतमा आज कुनै पनि मुद्दाको सुनुवाइ हुन सकेन । मङ्गलबार बन्दीप्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ भएको थियो तर आज त्यो पनि हुन सकेन ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणका छवटा इजलास तोक्नुभएको थियो । जसमा चारवटा संयुक्त र दुईवटा एकल इजलास रहेको थियो । संयुक्त इजलासमा न्यायाधीश दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र हरिकृष्ण कार्की, बमकुमार श्रेष्ठ र कुमार चुडाल, तेजबहादुर केसी र डा कुमार रेग्मीको रहेको थियो भने एकल इजलासमा न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र न्यायाधीश सुष्मालता माथेमा रहेको थियो । यी छवटै इजलासमा बेन्च बस्न नसकेको जनाइएको छ ।

सर्वोच्च अदालतमा प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीशले मुद्दाको सुनुवाइका लागि आज बन्दीप्रत्यक्षीकरणको मुद्दामा पेसी तोक्नुभएको थियो तर कुनै पनि बेन्च बस्न नसक्दा सुनुवाइ हुन सकेन ।

गत आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायलयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो । सोमबारदेखि नै मुद्दाको सुनुवाइ पूरै प्रभावित भएको छ । सर्वोच्च अदालतमा भएको मुद्दाको सुनुवाइ प्रभावित भएको आज आठ दिन पुगेको छ ।

सर्वोच्च अदालतको गत सोमबार पूर्ण बैठक (फुलकोर्ट) बसेर समस्याको समाधान गर्ने भनिएता पनि उक्त बैठक बस्न सकेन । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशलाई पनि संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह समेत गर्नुभएको छ ।

अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । जसले गर्दा पालोमा टाढाटाढाबाट आएका सेवाग्राहीहरु मर्कामा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *