Main News

काठमाडौं उपत्यकाका मुख्य नाकाहरुमा कोरोनाविरुद्धको खोप अभियान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १६ गते १६:०६
काठमाडौं उपत्यकाका मुख्य नाकाहरुमा कोरोनाविरुद्धको खोप अभियान (भिडियो रिपोर्टसहित)

१६ कात्तिक २०७८ काठमाडौं । तिहारमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुलाई लक्षित गरी सरकारले कोरोनाविरुद्धको खोप अभियान शुरु गरेको छ । दुई दिने अभियान अन्तर्गत सरकारले काठमाडौं उपत्यकाका मुख्य चार वटा नाकामा कोरोनाविरुद्धको खोप लगाउन थालेको हो ।

दुई महिनाअघिसम्म कोरोनाविरूद्धको खोप लगाउन महाभारत थियो । तोकिएको उमेर पुगेका व्यक्तिले दिनभर लाइन बसेर पनि खोप लगाउने पालो पाउँदैन थिए । तर अहिले समय फेरिएको छ ।

सरकारले अब अस्तपाल र तोकिएका स्वास्थ्य केन्द्रमा मात्र हैन काठमाडौंका चोकचोकमा कोरोनाको खोप लगाउन थालेको छ । उपत्यकाबाट बाहिरिने नाकाहरु कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलंकी चोकमा यात्रुहरुलाई कोरोनाविरुद्धको खोप दिन शुरु गरिएको हो ।

अभियानका क्रममा भेरोसेल र एस्टाजेनेकाको खोप लगाउन सक्ने व्यवस्था सरकारले गरेको हो । चोकमा खोप लगाउन पाएका नागरिक खुशी छन् ।

चाडपर्वमा मानिसहरुको जमघट हुने, आवतजावत बढी हुने र कोरोना संक्रमण बढ्नसक्ने जोखिम रहेकाले सरकारले यो कार्यक्रम सञ्चालन गरेको हो । खोप लगाउनका लागि यात्रुले उमेर खुल्ने परिचय पत्र देखाउनुपर्ने छ ।

विगतमा १०– १२ घण्टा लाइन बस्दा पनि खोप नपाएकाहरु तिहारको मुखमा संक्रमणको जोखिम र प्रभाव कम हुने सुनिश्चितता पाउँदा चाड पर्वमा रौनकता थपिने विश्वासमा छन् ।

सरकारले १८ वर्षमाथिका झण्डै ४४ प्रतिशतलाई कोरोनाविरुद्धको खोपको पहिलो मात्र दिइसकेको छ । यस्तै ३७ प्रतिशतले खोपको पूर्ण मात्रा लगाइसकेका छन् ।

नेपालजस्तो अति कम विकसित देशमा खोपको वर्तमान अवस्थालाई सन्तोषजनक मान्न सकिने सरकारको दाबी छ । यद्यपि थप खोप आयात गरी लक्षित वर्गलाई खोप लगाउन सके संक्रमण न्यूनीकरण गर्न मद्दत पुग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *