Main News

आज धन्वन्तरी जयन्ती मनाइँदै

हिमालय टिभी
२०७८ कार्तिक १६ गते ९:५५
आज धन्वन्तरी जयन्ती मनाइँदै

१६ कात्तिक २०७८ काठमाडौं । आयुर्वेदका प्रवर्तक धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाइँदैछ ।

देव र असुर मिली समुद्र मन्थन गर्दा विभिन्न रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीकै दिन अमृत कलश लिएर धनवन्तरीको उत्पत्ति भएको वैदिक हिन्दू शास्त्रमा उल्लेख छ ।

विसं १९७४ मा काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धनवन्तरी जयन्ती मनाउन थालिएको थियो । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा सञ्चालित आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ ।

आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा विसं २०५६ देखि धनवन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको छ ।

धनवन्तरी जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाड, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा समेत विविध कार्यक्रम गरी मनाउने गरिन्छ ।

आजदेखि यमपञ्चक पनि शुरु भएको छ । आज सुन र तामाका सामान किनमेल गर्ने चलन समेत रहिआएको छ । आजका दिनमा सामान किनेर लक्षमी पुजाका दिन पुजा आरधना गरे समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *