Main News

माधव नेपालको साथ छाेडेका मुख्यमन्त्री आचार्यको बहिर्गमन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १५ गते २०:५६
माधव नेपालको साथ छाेडेका मुख्यमन्त्री आचार्यको बहिर्गमन (भिडियो रिपोर्टसहित)

१५ कात्तिक २०७८ काठमाडौं । नेकपा एमाले विभाजनपछि माधव नेपालको साथ छाड्नु भएका भीम आचार्य भदौ १० गते प्रदेश एकको मुख्यमन्त्री बन्नु भयो । नेपालको साथ छाडेर एमालेमै रहेर मुख्यमन्त्री बनेका आचार्यको पद नेपालको साथ छाडेकै कारण गुमेको छ ।

प्रदेश एकका मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त नहुने भएपछि पदबाट राजीनामा दिनु भएको छ । प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अल्पमतमा परेलगत्तै आफूले राजीनामा दिने चाहना रहे पनि जनताको अपेक्षाका कारण आफूले राजीनामा नगरेको भन्न भ्याउनु भयो । जनताको जाहना अझै पनि आफ्नो नेतृत्वको सरकार अघि बढोस् भन्ने रहे पनि संसदीय अंकगतिणतका कारण राजीनामा दिनुपरेको आचार्यको भनाइ छ ।

झण्डै एक घण्टा सम्बोधन गर्नु भएका आचार्यले छोटो समयमा आफ्नो सरकारले गरेका कामको विवरण प्रस्तुत गर्नु भयो । आफ्नो सरकारसंग प्रदेशको विकासका लागि भिजन भएपनि काम गर्ने समय नपाएको आचार्यको दाबी छ ।

आचार्यले समय नभएको दाबी गरेपनि पार्टी विभाजनपछि आफू अल्पमतमा पर्छु भन्ने थाहा हुँदा हुँदै आचार्य मुख्यमन्त्री बन्ने लोभमा नेपालको साथ छाडेको आरोप लाग्ने गरेको छ । आचार्यले राजीनामा दिँदै गर्दा आफ्नो नेतृत्वको सरकारले आयु लम्बाउन खोजेको,। कार्यकर्ता भत्तिकेन्द्र बनाएको जस्ता आरोप लगाइएकोमा असन्तुष्टि जनाएका आचार्यले नयां बन्ने सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रदेशसभामा सोमबार आचार्यले विश्वासको मत लिने कार्यसूची थियो । ९१ सांसद रहेको प्रदेश सभामा बहुमतका लागि ४६ सांसद आवश्यक पथ्र्यो । आचार्यको पक्षमा सभामुखसहित ४१ सांसद मात्रै भए पनि उहाँले विश्वासको मत पाउने सम्भावना थिएन । विश्वासको मत पाउने अवस्था नरहेपछि आचार्यले राजीनामा दिनु भएको हो ।

मुख्यमन्त्री बनेको केही दिनमै अल्पमतमा पर्नु भएका आचार्यले ६७ दिन प्रदेश सरकारको नेतृत्व गर्नु भयो । विपक्षी दलहरुले भने गत असोज १० मै आचार्यले विश्वासको मत लिनुपर्ने दबाव दिएका थिए । त्यसपछि दशैं र विपक्षी गठबन्धनको आन्तरिक समस्याले गर्दा आचार्यको पद थप केही दिन जोगियो । ५० सांसद सहित एकल बहुमत रहेको नेकपा एमाले विभाजनपछि १० सांसद नेकपा एकीकृत समाजवादीमा लाग्दा आचार्य अल्पमतमा पर्नु भएको थियो ।

एमाले विभाजन हुनुअघि मावधकुमार नेपालको पक्षमा रहेका आचार्य पछि केपी ओली नेतृत्वको एमालेमै रहेपछि मुख्यमन्त्री बन्ने अवसर पाउनु भयो । मुख्यमन्त्री रहेका शेरधन राईले राजीनामा दिएर आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खोलिदिनु भएको थियो । आचार्य नेपाल पक्षमै रहेको भए पनि मुख्यमन्त्री पाउने पक्का थियो । तर एमालेमै रहेकाले छोटो समयमै मुख्यमन्त्री पद गुमाउनु परेको छ ।

प्रदेश एकमा नेकपा एमालेका सभामुखसहित ४१ , नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५,नेकपा एकीकृत समाजवादीका १०,जनता समाजवादीका ३, राप्रपा का १, संयुक्त लोकतान्त्रिक राष्ट्रिय दलका १ सांसद रहेका छन् ।

राप्रपाबाहेका सांसद विपक्षी गठबन्धनमा रहेकाले ५० सांसदसहित गठबन्धनको पक्षमा बहुमत रहेको थियो । आचार्यजस्तै नेपालको साथ छाडेर बाग्मती प्रदेशको मुख्यमन्त्री बन्नु भएकी अष्टलक्ष्मी शाक्यले पनि छोटो समयमै पदबाट हट्नु परेको थियो । विश्वासको मत पाउने अवस्था नदेखेपछि शाक्यले पनि अन्तिम समयमा राजीनामा दिनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *