Main News

सम्मानजनक बहिर्गमनको खोजीमा प्रधानन्यायाधीश राणा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १५ गते २०:४१
सम्मानजनक बहिर्गमनको खोजीमा प्रधानन्यायाधीश राणा (भिडियो रिपोर्टसहित)

१५ कात्तिक २०७८ काठमाडौं । लामो विवादका बीच सर्वोच्च न्यायलयको विवादले निकास पाउने सम्भावना देखिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा र आन्दोलनरत न्यायधीशका तर्फबाट गठित वार्ता टोलीबीचको वार्तामा राणा निकास दिन सकारात्मक भएपछि न्यायालयको समस्या समाधानोन्मुख देखिएको हो ।

जो धेरै हाँस्छ, कुनापछि उ सबभन्दा धेरै रुन्छ । जो ठूलो स्वरले बोल्छ, उ सबभन्दा कमजोर हुन्छ । पछिल्लो समय न्यायपालिकामा देखिएको विवाद त्यस्तै मोडमा पुगेको छ।

सहकर्मी न्यायाधीशदेखि, बार, नागरिक समाज र पूर्व न्यायाधीशसम्मले राजीनामा माग्दा पनि टसकी मस नभएका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अन्ततः त्यस्तै मोडमा पुगेर रोकिनुभएको छ। राजनीतिक दलहरुको साथ र समर्थन पाउने तथा महाअभियोग नलाग्ने आत्मविश्वासका साथ आन्दोलन लतार्न मदमस्त प्रधानन्यायाधीश राणाको हरेक अस्त्र भुत्ते भएपछि उहाँ सहकर्मी न्यायाधीशहरुसँग निकासको मार्ग याचना गर्न बाध्य हुनुभएको छ।

सर्वोच्च अदालतका न्यायाधीश र बारसमेत आन्दोलनमा उत्रिँदा आन्दोलन पूर्व प्रधानन्याधीशहरुको प्रायोजनमा संचालन भएको आरोप लगाएर केही दिन एक्लै मुद्दा हेर्न थाल्नुभएका राणाले आन्दोलनकै कारण सोमबार मुद्दा मात्र तोकेर बस्न बाध्य हुनुभयो ।

सहकर्मी न्यायाधीशहरुले संयुक्तरुपमा मुद्दासमेत हेर्न नमानेपछि साँच्चै एक्लिनुभएका स्वघोषित बृहस्पति राणा बन्दी प्रत्यक्षीकरणको मुद्दा सहकर्मीलाई तोकेर न्यायाधीशहरुको प्रस्ताव कुरेर रामशाहपथमा आँखा डुलाइरहनुभयो । केही दिन अघिसम्म सहकर्मी र संचारकर्मीहरुसँग समेत राजनीतिक दलको नेताले चुनावमा गरेको भाषणको शैलीमा गर्जिनुभएका राणाको आवाज मात्र धिमा भएको छैन , निकास समेत साँघुरिएको छ। राजीनामाको र समेत सुन्न नचाहने राणा राजीनामा गर्न तयार रहेको तर सम्मानजनक निकासको बातावरण बनाइदिन याचना गरिरहनुभएको छ।

नेपालको न्यायालयमै विडम्बना र विचरा बन्नुभएका प्रधानन्यायाधीश राणा आफ्नै सहकर्मी र आफैले भागबण्डामा नियुक्ति दिलाएका न्यायाधीशको समेत साथ नपाउने ठाउँमा पुग्नुभएको छ। बारको अल्टिमेटमका कारण चापमा पर्नुभएका राणा न्यायाधीशको वार्ता टोलीसँग गीभ एण्ड टेकको याचना गर्ने अवस्थामा पुग्नुभएको छ।

तर राणालाई सम्मानजनक बहिर्गमनका नाममा थप समय दिन न्यायाधीशहरु तयार देखिएका छैनन् । एक पछि अर्को झुटको सहारा लिएको र सहकर्मीहरुलाई दोष लगाएर पानीमाथिको ओभानो बन्न उद्यत राणाले केही दिनमै निकास दिनेमा न्यायाधीशहरु ढुक्क देखिएका छन् ।

नेपालकै इतिहासमा सर्वोच्च न्यायलयलाई मछलीबजार भन्ने प्रधानन्यायाधीश राणाले पूर्व प्रधानन्यायाधीशहरुलाई नभेटेको भनेर झुठ समेत बोल्नुभयो । उहाँले पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको निवास धापासी र कल्याण श्रेष्ठको निवास कुपण्डोल पुगेर सहयोगको याचना गर्नुभएको खुलिसकेको छ। पूर्व प्रधानमन्त्री प्रचण्डलाई भेटेर सहयोग माग्नुभएका राणाले वर्तमान र पूर्व ओली सरकारसँग त कार्यपालिकामा भाग नै माग्नुभएको थियो । सर्वोच्चमा सेटिङका आधारमा मुद्दा तोक्ने र भ्रष्टाचारलाई प्रश्रय दिएको आरोप लागेका राणा अन्ततः महाअभियोगबाट भने जोगिनुहुने भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *