राजनीति

ओली अहंकारले सबै सरकारबाट यसरी बाहिरियो एमाले (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १५ गते २०:३७
ओली अहंकारले सबै सरकारबाट यसरी बाहिरियो एमाले (भिडियो रिपोर्टसहित)

१५ कात्तिक २०७८ काठमाडौं । संघमा दुई तिहाई बहुमतको सरकार । सात प्रदेशमध्ये चार प्रदेशमा एकल बहुमतको सरकार । तर साढे तीन वर्ष अघिको जुन नेतृत्व थियो अहिले आएर सबैतिर नेतृत्वविहीन हुन पुगेको छ नेकपा एमाले । पार्टी विभाजनको असर केन्द्रमा मात्रै होइन प्रदेशमा पर्दा एमालेले सबैतिरको सरकारको नेतृत्व गुमाएको छ ।

माओवादीसँग पार्टी एकतापछि २०७४ को निर्वाचनमा दुई तिहाइ बहुमत ल्याएर शक्तिशाली प्रधामन्त्री बन्नु भएको थियो, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । प्रदेश २ बाहेक सबैतिर नेकपाकै सरकार थियो ।

पार्टी एकता नहुँदै गठबन्धन गरेर सहभागी भएको चुनावमा ७ मध्ये चार प्रदेशमा एमालेको एकल बहुमत नै थियो । संघमा प्रधानमन्त्री, प्रदेशमा धेरैजसो मुख्यमन्त्री र महत्वपूर्ण मन्त्रालयहरु एमालेको हातमा थिए । पार्टीको औपचारिक एकतापछि पार्टीभित्र र बाहिरबाट शक्तिशाली बनेका ओली त्यही शक्तिको अहंकारमा चुर्लुम्म डुब्दा अहिले न रह्यो बाँस, न बज्यो बाँसुरीको अवस्था सिर्जना भएको छ ।

नेकपा फुटेर पूर्ववत् दुई पार्टी त भए नै त्यसैमाथि आफ्नै पार्टी एमालेलाईसमेत ओलीले एकताबद्ध राख्न सक्नु भएन । ओली प्रवृत्तिबाट भूकम्पले झैँ चर्किएको एमाले माधव कुमार नेपालले विभाजनै गरेर शक्तिशाली परकम्प सिर्जना गरेपछि एमाले संघ र प्रदेश सरकारबाट पूर्ण रुपमा बाहिरिएको छ ।

उसको शक्ति अब भग्नावशेषका रुपमा स्थानीय तहमा मात्रै बाँकी रहेको छ । ओली प्रवृत्तिले एमाले मात्र होइन मुलुकको संविधान र प्राप्त उपलब्धि नै सकिने खतरा उत्पन्न भएपछि बनेको गठबन्धन सरकारले अहिले संघदेखि प्रदेशसम्म रजगज चलाउन सुरु गरेको छ ।

एमालेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट सुरु भएको यात्रा अन्तिममा आएर प्रदेश १ का मुख्यमन्त्री भीम आर्चायसम्म सबै तहका सरकारबाट नेतृत्वविहीन हुन पुगेको हो । पार्टीलाई ठूलो जनमतसहित सरकारमा पु¥यएका अध्यक्ष ओलीले नै पार्टीलाई सरकारबाट सडकमा निकाल्नु भएको हो ।

शक्ति, साख र सहयात्रीहरु गुमाइसक्दा पनि ओलीको अहंकार भने घटेको देखिन्न । पतनको बाटोमा हुदाँ समेत त्यो आफ्नो गल्तिको समीक्षा गर्नुभन्दा पनि अर्कोलाई दोष देखाउने शिलशिला ओलीमा रोकिएको छैन । ओलीकै कारण यो परिस्थिति सिर्जना भए पनि एमाले नेताहरु स्वीकार गर्न तयार छैनन् ।

ओली प्रवृतिविरुद्ध एक भएको गठबन्धनको सरकारले एक पछि अर्को गरी एमालेलाई धक्का दिइरहेका छन । अझै पनि आगामी निर्वाचनसम्म ओली प्रवृतिविरुद्ध लड्न गठबन्धन दलका नेताहरु अगाडि बढेकाले एमालेसामु चुनौतिका पहाड थपिँदै गएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्