Main News

सर्वोच्च अदालतमा आज बन्दीप्रत्यक्षीकरणको मुद्दा मात्र सुनुवाइ हुने

हिमालय टिभी
२०७८ कार्तिक १५ गते १२:५३
सर्वोच्च अदालतमा आज बन्दीप्रत्यक्षीकरणको मुद्दा मात्र सुनुवाइ हुने

१५ कात्तिक २०७८ काठमाडौं । सर्वोच्च अदालतमा आज बन्दीप्रत्यक्षीकरणका मुद्दामा मात्र सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणका छ इजलास तोक्नुभएको छ । त्यसमा चार संयुक्त र दुई एकल इजलास रहेका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीशले मुद्दाको सुनुवाइका लागि आज बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाइका लागि पेसी तोक्नुभएको छ । अब केही बेरमा सुनुवाइ सुरु हुन्छ ।

गत आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो । गत सोमबारदेखि नै मुद्दाको सुनुवाइ पूरै प्रभावित भएको छ । मुद्दाको सुनुवाइ प्रभावित भएको आज एक हप्ता भएको छ ।

सर्वोच्च अदालतको गत सोमबार पूर्ण बैठक (फुलकोर्ट) को बैठक बसेर समस्याको समाधान गर्ने भनिए पनि उक्त बैठक बस्न सकेन । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफूसक्षम रहेको जनाउँदै न्यायाधीशलाई पनि संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गर्नुभएको छ । आज प्रधानन्यायाधीश र न्यायाधीशबीच छलफल गर्ने तय भएको छ ।

अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । त्यसले गर्दा पालोमा टाढाटाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *