प्रधानन्यायाधीश जबराबारेको विवादका कारण न्यायाधीशहरूले आज पनि मुद्दा नहेर्ने
१५ कात्तिक २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको भूमिकाका बारेमा जारी विवादका कारण सर्वोच्च अदालतका न्यायाधीशहरूले आज पनि मुद्दा नहेर्ने भएका छन् ।
प्रधानन्यायाधीश जबराको सम्मानजनक बहिर्गमनकै पक्षमा रहेको निष्कर्षमा पुगेका सर्वोच्चका न्यायाधीशहरूले आज पनि मुद्दा नहेर्ने भएका हुन् । जबराको बहिर्गमनको प्रस्तावको बारेमा भने आज सर्वोच्च अदालतका न्यायाधीशहरूले छलफल गर्ने भएका छन् ।
न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरासँग वार्ता गर्न अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई जिम्मा दिएका थिए । तीनै जना न्यायाधीशले हिजो प्रधानन्यायाधीश जबरालाई भेटेर यसबारेमा जानकारी गराइसकेका छन् ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरूले समस्याको निकासका लागि फेरि वार्ता गर्ने निर्णय हिजो गरेका थिए । नेपाल बार एशोसिएशनले पनि जबराविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
यता प्रधानन्यायाधीश जबराको राजीनामाको विषयमा नेपाल बार एशोसिएशन भने विभाजित भएको छ । बारका अधिकांश सदस्यले सर्वोच्च अदालत परिसरमा कालोपट्टि बाँधेर धर्ना दिएका छन् ।
तर सोही स्थानमा केही कानून व्यवसायीले भने अदालतमा इजलास चल्नुपर्ने माग गर्दै हातमा सेतोपट्टि बाँधेर हिजो प्रदर्शन गरेका थिए ।
न्यायालयको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने मागसहित बारका सदस्यहरू धर्नामा बस्दा केहीले भने इजलासको निरन्तरताको माग गर्दै प्रदर्शन गरेका हुन् ।
आफूहरूले कात्तिक १७ गतेसम्म विरोधको कार्यक्रम जारी राख्ने नेपाल बार एकोसिएशनका कोषाध्यक्ष रुद्रप्रसाद पोखरेलले बताउनुभयो ।
प्रतिक्रिया