Main News

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको मुद्दाको फैसला आज

हिमालय टिभी
२०७८ कार्तिक १५ गते ८:०३
पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको मुद्दाको फैसला आज

१५ कात्तिक २०७८ काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको आज फैसला हुँदैछ । फैसलामा दुई नेतामाथि मुद्दाअघि बढ्ने वा नबढ्नेबारे आदेश आउने छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले गरेको निर्णय आज सुनाउने भएको हो।

असोज १८ गते प्रधानन्यायाधीश जबरा र न्यायाधीश सुवेदीको संयुक्त इजलासमा बहस सकिएपछि निर्णय सुनुवाइका लागि आजको मिति तोकेको थियो। तर, सर्वोच्चका न्यायाधीशको निरन्तर इजलास बहिस्कारले फैसला सुनाउने नसुनाउनेबारे भने अन्योल देखिएको छ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा प्रकरणमा नेपाल र भट्टराईलाई अख्तियारले मुद्दा नचलाएको भन्दै अख्तियार समेतलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको थियो ।

२०७६ माघ २९ मा दर्ता भएको न्यौपानेको रिटमा सर्वोच्चले यसअघि नै अग्राधिकार दिए पनि सुनुवाई हुन सकेको थिएन।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगलले २०७६ माघ २२ मा बालुवाटारस्थित ललितानिवास क्याम्पको करीब १३६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउन भूमिका खेल्ने १७५ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा चलाएको थियो।

अख्तियारले उनीहरूमध्ये पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ११० जनालाई जरिवाना र कैद सजाय माग गरेको थियो भने ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाएको थियो।

मन्त्रिपरिषद्को निर्णय अदालतले हेर्न नमिल्ने भन्दै तत्कालिन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईमाथि भने मुद्दा चलाईएको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *