राजनीति

सभामुख सापकोटा संसदीय प्रणालीकै कलंक भएको एमाले अध्यक्ष ओलीको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १३ गते १८:४५
सभामुख सापकोटा संसदीय प्रणालीकै कलंक भएको एमाले अध्यक्ष ओलीको आरोप (भिडियो रिपोर्टसहित)

१३ कात्तिक २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई संसदीय प्रणालीकै कलंकको संज्ञा दिनु भएको छ ।

अध्यक्ष ओलीले सभामुख सापकोटाजस्तो संसदीय प्रणालीकै कलंकलाई फेरि संसदमा पाइला टेक्न नदिने गरी आगामी निर्वाचनमा हराउन पनि सिन्धुपाल्चोक जिल्लाका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

नेकपा एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै उहाँले सभामुख सापकोटाले सभामुखको गरिमा मात्रै नराखेको नभई संसदीय व्यवस्थाको कुनै पनि मर्यादा कायम राख्न नसकेको गम्भिर आरोप समेत लगाउनु भयो ।

अध्यक्ष ओलीले एमालेविरुद्धको षड्यन्त्रमा सामेल भएर आफ्नो सभामुख सापकोटाले पदीय भूमिका, गरिमालाई तिलाञ्जली दिएको दावी समेत गर्नुभयो । उहाँले प्रचण्डको निर्देशनमा उहाँले आफू प्रधानमन्त्री हुँदा संवैधानिक परिषदलाई अनिर्णयको बन्दी बनाउने काम गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अग्नी सापकोटाजस्तो मान्छे संसदीय प्रणालीकै कलंक फेरि निर्वाचित भएर संसदमा पाइला टेक्न पाउनुहुन्छ ? उनी कलंक हुन संसदीय व्यवस्थाका । सभामुखको गरिमाको त कुरै छोडौं । कुनै मर्यादा छैन । नेकपा एमालेको विरुद्धको षडयन्त्रमा सामेल भएर पदीय भूमिका, पदीय गरिमा त्यो सबै कुरालाई बिर्सिएर तिलाञ्जली दिएर आफू सरकारमा हुँदा संवैधानिक परिषदको बैठकमा अनुपस्थित भएर पार्टीको निर्देशनमा अनुपस्थित हुने, पदीय कर्तव्य पालना नगर्ने । अनुपस्थित भएर संवैधानिक परिषदमा योगदान नगर्ने देशलाई चल्न दिने काम उनले गरेका छन ।’

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई देश बर्बाद पार्ने काममा मात्रै सरिक हुने पात्रको रुपमा चित्रण गर्नुभयो । प्रचण्डले धक्का, छल्याङ भनेर आफैलाई महाविपत्तितर्फ धलेल्दै लगेको अध्यक्ष ओलीको दावी छ ।

अध्यक्ष ओलीले नेपाली कांग्रेस महाधिवेशनसमेत गर्न नसक्ने गरी बुढो भएको टिप्पणी गर्नु भयो । उहाँले ५ वर्षभित्र गरिसक्नुपर्ने महाधिवेशन गर्न नसक्ने कांग्रेसले संवैधानिक रुपमा थप गरेर ६ महिनामा पनि गर्न नसकेर आफूलाई अशक्ति पार्टीको रुपमा उभ्याएको ओलीको भनाइ छ । उहाँले कांग्रेसजस्तो अशक्त पार्टीले आफ्नो पार्टीसँग निर्वाचनमा प्रतिस्पर्धा गर्नै नसक्ने दावी समेत गर्नु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘पाँच वर्षभित्र गर्नुपर्ने गर्न नसक्ने । त्यसपछि ६ महिनामा गर्नुपर्ने । त्यो पनि गर्न नसक्ने । निर्वाचन आयोगले दिएको ६ महिनाभित्र अहिले पनि १४ वटा जिल्लामा कांग्रेसको अधिवेशन बाँकी छ । त्यो कुनै पनि हिसावले कांग्रेसको रिती पु-याउने कुरा हो । महाधिवेशन आयोजना गर्ने क्षमतानै कांग्रेससँग समाप्त भइसक्यो । महाधिवेशननै गर्न नसक्ने हालतमा कांग्रेस बुढो । अशक्त भयो ।’

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा बालुवाटारमा करोडौंको भाँडाकुँडा किन्यो भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिको पनि खण्डन गर्नु भयो । उहाँले नयाँ नयाँ कथा हाल्ने नेताको रुपमा दाहाल रहेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री हुँदा करोडौको भाँडाकुँडा किनेको भन्ने कुरा सत्य नभएको बताउनु भयो । बरु आफूले घरबाटै लगेको भाँडामा खानेकुरा बनाएर खाएको उहाँको स्पष्टीकरण थियो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रचण्डले हाल्ने गर्छन नि कथा । प्रचण्डले चितवन गएर के भनेछन भने–मलाई डेढ लाखको खाटमा सुत्यो भनेर कुरा गर्ने केपी ओलीले भान्सको भाँडाकुँडा मात्रै करोडौंको किनेको रहेछ भनेर । मेरो भान्सामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे । के को किन्नु सरकार बेकार । मलाई केही चाहिएको छैन । अब त्यहाँ प्रधानमन्त्रीको निवासमा सेना बस्छ । सेनाले खानु प-यो होला । सेनालाई खाना पकाउनु प-यो होला । त्यहाँ ग्याँस खर्च भयो होला । अनि करोडौंको भाँडाकुँडा चाँही के गर्नु ?’

अध्यक्ष ओलीले आफ्नो पार्टी एकतावद्ध रहेको दावीसमेत गर्नु भयो । उहाँले माधव नेपाललाई पार्टीभित्रै राख्नका लागि १० बुँदे सहमति गरेको पनि पटकपटक दोहो-याउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्