इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने विद्यार्थी संगठनहरुको चेतावनी (भिडियो रिपोर्टसहित)

१३ कात्तिक २०७८ काठमाडौं । छ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न माग गरेका छन्।
आयल निगमभित्र भएका भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गर्दै जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन विभिन्न उपायको खोजी गर्नेतर्फ पूर्ण उदासिन रही केबल अन्तर्राष्ट्रिय बजारको मूल्य समायोजनको नाममा एकोहोरो रूपमा गरिएको मूल्य वृद्धिप्रति उनीहरूले आपत्ति जनाएका छन्।
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, विप्लवनिकट र क्रान्तिकारी मओवादी निकट विद्यार्थी संगठनका अध्यक्षले संयुक्त विज्ञप्ति निकाली नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्यवृद्धिले आम नेपालीको जनजीवन कठिन बनाएको उल्लेख गरेका छन्।
उनीहरुले ८० लाख विद्यार्थीहरूको प्रतिनिधि संगठनहरूको विज्ञप्ति र सालिन आग्रहलाई बेवास्ता गरिए कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिएका छन्।
यस्तै, नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ ।
अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति निकाली सरकारले पेट्रोलियम पदार्थको मूल्य तत्काल नघटाए संघर्षका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिनुभयो ।
नेपाल आयल निगमले गएरातिदेखि लागू हुनेगरी एलपी ग्यासमा प्रतिसिलिण्डर ५० तथा पेट्रोल,डिजेल र मट्टितेलमा प्रतिलिटर ३–३ रुपैयाँ भाउ बढाएको छ ।
प्रतिक्रिया