Main News

‘योग्य व्यक्तिलाई राजदूत नियुक्त'(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १२ गते २०:५३
‘योग्य व्यक्तिलाई राजदूत नियुक्त'(भिडियो रिपोर्टसहित)

१२ कात्तिक २०७८ काठमाडौं । अघिल्लो सरकारले नियुक्त गरेका राजनीतिक पृष्ठभूमिका राजदूतहरुलाई वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले फिर्ता बोलायो । अमेरिका, भारत, चीन, बेलायत जस्ता ठूला देशहरुमा नेपाली कूटनीतिक प्रतिनिधित्व खाली छ ।

सरकारले बिहीबार मात्र तीन मुलुक अमेरिका, भारत र बेलायतका लागि राजदूतको नाम सिफारिस गरेको छ । सरकारले सिफारिस गरेका तीनै जना कूटनीतिक मामिला सम्बन्धी पृष्ठभूमि भएका व्यक्ति हुन् । यसलाई कूटनीतिक मामिलाका जानकारहरुले सकारात्मक मानेका छन् ।

असार २९ गते नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर निकै आलोचना भएका छन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारमै तीन महिना लगाएको मात्र होइन, सरकारका शैलीहरुमै प्रश्न उठ्दै आएको छ ।

देउवा सरकारका धेरै कमजोरी रहे पनि केही निर्णयहरु सकारात्मक छन् । राष्ट्रिय योजना आयोगमा डाक्टर विश्वनाथ पौडेलको नियुक्तिमा देउवा सरकारले वाहवाही नै पायो । बिहीबार मात्र तीन ठूला देशहरुमा गरिएको राजदूत सिफारिसलाई पनि सकारात्मक मानिएको छ ।

नेपालको कूटनीतिवृत्तमा जहिले पनि ‘राम्रालाई होइन, हाम्रालाई’ राजदूत बनाउने प्रचलन रहँदा नेपालको कुटनीतिक मामिला कमजोर बनेको विश्लेषण हुने गरेको छ । तर, अब हाम्रा मान्छे होइन राम्रा मान्छे चाहिने बेला आइसकेको छ ।

विश्व राजनीतिमा नेपालको भूमिका बढ्दै जाँदा कुटनीतिक मामिलामा दख्खल राख्ने राजदूतहरुको नियुक्ति अहिलेको आवश्यकता हो । चाहेर वा नचाहेर शक्ति राष्ट्रहरुको नजर नेपालतर्फ बढ्दैछ । त्यसैले पनि नेपालले कूटनीतिक पहुँच बढाउनुपर्ने अवस्था छ ।

अघिल्लो सरकारले राजदूत नियुक्तिको निर्देशिका जारी गरेको थियो । तर, निर्देशिकाको भावना विपरित राजदूतहरु नियुक्त गरेपछि आलोचना नै भयो । देउवा सरकारले अघिल्लो सरकारले पठाएका राजनीतिक पृष्ठभूमिका राजदूतहरुलाई फिर्ता बोलायो ।

यो निर्णयसँगै १२ देशका राजदूत फिर्ता भएपछि २३ देश राजदूत विहिन बनेका छन् । चीन बाहेक भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस भएका छन् । अन्य देशमा पनि छिट्टै राजदूत नियुक्त गर्नुपर्ने जानकारहरु बताउँछन् ।

भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्य सिफारिस हुनुभएको छ । शर्मा कुटनीतिक मामिलामा अब्बल मानिनुहुन्छ । उहाँले अमेरिकाका लागि राजदूतको भूमिका निर्वाह गरिसक्नुभएको छ ।

अमेरिकाका लागि सिफारिस हुनुभएका खत्री ‘थिंक ट्याङ्क’ रुपमा काम गर्दै आउनुभएको छ । उहाँ पनि कुटनीतिक मामिलामा सक्षम मानिनुहुन्छ । संयुक्त राष्ट्रसंघको उपमहासचिवको जिम्मेवारी समेत सम्हालिसक्नुभएका आचार्यसँग कुटनीतिक मामिलामा राम्रो अनुभव छ ।

देशकै प्रतिनिधित्व गर्ने मामिलामा दलीय भागवण्डा होइन, सक्षम र अनुभवि कुटनीतिज्ञले मात्र नेपाललाई विश्व सामु स्थापित गर्न सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *