राजनीति

एमाले महाधिवेशन प्रतिनिधि चार सय थपिए, रावल र भुसालप्रति ओलीको यस्तो आक्रोश (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १२ गते १९:२२
एमाले महाधिवेशन प्रतिनिधि चार सय थपिए, रावल र भुसालप्रति ओलीको यस्तो आक्रोश (भिडियो रिपोर्टसहित)

१२ कात्तिक २०७८ काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या चार सय बढाएको छ।

तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बसेको केन्द्रीय कमिटी बैठकले एक हजार ९ सय ९९ कायम गरेको हो । हिजो बसेको स्थायी कमिटी बैठकले १ हजार ५ सय ३६ जना महाधिवेशन प्रतिनिधि सहभागी गराउने निर्णय लिएको थियो। एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बढेको ४ सय प्रतिनिधि भूगोलबाट आउने जानकारी दिनुभयो ।

बैठकले कार्तिक २७ गते एकै दिन महाधिवेशन प्रतिनिधि चयन गर्ने छ। एमाले महाधिवेशन मूल व्यवस्थापन समितिमा पनि दुई जना नेतालाई थपेर २३ सदस्यीय बनाइएको छ। रामबहादुर थापा बादल नेतृत्वको व्यवस्थापन समितिमा स्थायी कमिटी सदस्य रघुजी पन्त र केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई थपिएको हो।

एमालेको दशौं महाधिवेशन मंसीर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने तय भएको छ । बैठकले केन्द्रिय कमिटीको अर्को बैठक आगामी मंसीर ९ गते महाधिवेशनको अघिल्लो दिन चितवनको सौरहामा गर्ने निर्णय पनि गरेको एमालेले जनाएको छ ।

यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालको भूमिकामा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले उपमहासचिव भुसालप्रति लक्षित गर्दै पार्टीभित्र चिठीको क्षेप्यास्त्र प्रहार गर्न आवश्यक नरहेको बताउनुभयो । उहाँले भुसालले लेखेको चिठीको जवाफ दिइरहन आवश्यक नभएको बताउनुभयो ।

अध्यक्ष ओलीले उपाध्यक्ष रावललाई पनि पार्टीको आन्तरिक विषय सार्वजनिक गर्नुको सट्टा पार्टी भित्रै छलफल गर्न सचेत गराउनुभयो । उहाँले आफ्ना असहमतिहरु बैठकमा नै राख्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले विधान महाधिवेशनको भव्य सफलताले एमाले एक ढिक्का रहेको सन्देश दिएको र यसलाई १० औं महाधिवेशनमा पनि कायम राख्नु पर्ने बताउनुभयो । ओलीले तलदेखि माथिसम्म प्रतिस्पर्धा नगर्ने गरी वातावरण बनाइने बताएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

एमालेले कात्तिक ६ गते वडा अधिवेशन र ९ गते पालिका अधिवेशन गरी सहमतिमा नेतृत्व चयन गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्