Main News

न्यायालय शुद्धीकरणको पक्षमा उभिन कांग्रेसका दर्जन नेताले गराए नेतृत्वको ध्यानाकर्षण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १२ गते १८:२१
न्यायालय शुद्धीकरणको पक्षमा उभिन कांग्रेसका दर्जन नेताले गराए नेतृत्वको ध्यानाकर्षण (भिडियो रिपोर्टसहित)

१२ कात्तिक २०७८ काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका १२ नेताले न्यायालय शुद्धीकरणका लागि भइरहेको लडाइँको पक्षमा उभिन नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

१२ नेताले आज संयुक्त विज्ञप्ति जारी गरी लोकतन्त्र र न्यायको आधारभूत मर्म माथि हुने सबै किसिमका प्रहारलाई रोक्नु र अदालतप्रतिको जनविश्वासलाई डगमगाउन नदिनु कांग्रेसको प्रमुख दायित्व भएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।

न्यायपालिकाको नेतृत्वको शुद्ध न्यायिक आचरणबिना न्यायपालिकाको स्वतन्त्रता सम्भव नहुने र न्याय क्षेत्र स्वतन्त्र नभए उदार लोकतन्त्रको संरक्षण सम्भव नहुने गगन थापा, चन्द्र भण्डारी, बद्री पाण्डे, प्रदीप पौडेल लगायतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

न्यायप्रणालीको संस्थागत विकास, न्यायपालिकाको निश्पक्षता र स्वतन्त्रताका लागि दीर्घकालिन समाधान खोज्न पनि कांग्रेसलले नेतृत्वदायी भुमिका खेल्नुपर्ने जनाइएको छ ।

न्यायालयको नेतृत्वका विषयमा न्यायालय र न्याय प्रणाली भित्रैबाट उठेको विरोधलाई सामान्य रुपमा लिन नमिल्ने भएकाले दलहरुले मौनता साँध्न नमिल्ने ती नेताको ठहर छ ।

मन्त्रिपरिषदमा भागबण्डा खोजेको लगायत विभिन्न आरोप खेपेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग राख्दै न्यायाधीश तथा कानून व्यवसायीले विरोध गरिरहँदा कांग्रेसका युवा नेताहरुको विज्ञप्ति आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *