Main News

नेपाल बार प्रधानन्यायाधीशको राजीनामा माग्दै थप आन्दोलन घोषणाको तयारीमा

हिमालय टिभी
२०७८ कार्तिक १२ गते ७:४४
नेपाल बार प्रधानन्यायाधीशको राजीनामा माग्दै थप आन्दोलन घोषणाको तयारीमा

१२ कात्तिक २०७८ काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै थप आन्दोलन घोषणाको तयारी गरेको छ ।

कार्यसमितिको बैठक बसेर आज प्रधानन्यायाधीश राणाविरुद्ध थप कार्यक्रम घोषणा गर्ने बारका महासचिव लीलामणि पौडेलले बताउनुभयो ।

नेपाल बारले गत मंगलबार चार दिनदेखि बसेको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठक टुंग्याउँदै प्रधानन्यायाधीशलाई राजीनामा दिन आह्वान गरेको थियो ।

राणाले राजीनामा नदिए देशैभरका ९० वटा बार इकाईमार्फत आन्दोलन घोषणा गर्ने निर्णय गरेको थियो ।

प्रधानन्यायाधीश राणाले कार्यकारीसँग संवैधानिक निकाय र मन्त्रिपरिषदमा भाग खोजेको, आफ्नो स्वार्थ जोडिएका मुद्दाको सुनुवाइ अनिश्चितकालसम्म स्थगित गराएको, न्यायपालिकामा भएका विकृति विसंगति सुधार गर्ने काममा आफैं बाधक बनेको, पेसी सूची प्रकाशन र इजलास तोक्ने विषयलाई वैज्ञानिक बनाउन अनुसन्धान समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरेको जस्ता आरोप लागेका छन् ।

पूर्वन्यायाधीश, पूर्वप्रधानन्यायाधीश, नेपाल बार एशोसिएशन, सर्वोच्च बार एशोसिएशन, संवैधानिक कानून व्यवसायी मञ्च लगायत संस्थाहरूले राणाको नेतृत्वमा न्यायपालिकाको सुधार सम्भव नरहेको भन्दै नेतृत्व छाड्न दबाब दिइरहेका छन् । सर्वोच्चका बहालवाला २० मध्ये १९ न्यायाधीश राणाविरुद्ध उभिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *