Main News

प्रधानमन्त्री देउवा आज बेलायतको लण्डन जाँदै

हिमालय टिभी
२०७८ कार्तिक १२ गते ७:३९
प्रधानमन्त्री देउवा आज बेलायतको लण्डन जाँदै

१२ कात्तिक २०७८ काठमाडौं । पहिलो विदेश भ्रमणका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायतको राजधानी लण्डन जाँदैहुनुहुन्छ ।

बेलायतको शहर ग्लासगोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२६ मा भाग लिन २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा बिहान पौने ११ बजे कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पाँचौ पटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो । देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलगायत सरकारका वरिष्ठ अधिकारी रहनेछन् ।

कोप–२६ पर्सिदेखि आउँदो २६ गतेसम्म ग्लास्गोमा हुँदैछ । प्रधानमन्त्री देउवाले यही कात्तिक १५ र १६ गते हुने वर्ल्ड लिडर समिटमा सम्बोधन गर्नुहुनेछ ।

सम्मेलनमा नेपालले, नेपालको पर्वतीय क्षेत्र, यहाँको जनजीविकामा जलवायु परिवर्तनको असर, हानि र नोक्सानीलाई थप अलग्गै कार्यक्रमहरुबाट सम्बोधन गर्नुपर्ने सवाल तथा सुदृढ र दिगो वित्तीय व्यवस्था सुनिश्चित गर्न विश्व समुदायको ध्यानाकर्षण गराउने वन मन्त्रालयले जनाएको छ ।

त्यसक्रममा देउवाले भारतीय समकक्षी लगायत विभिन्न देशका नेताहरुसँग उच्चस्तरीय साइड वार्ता गर्ने कार्यक्रम पनि तय भएको छ । प्रधानमन्त्री देउवा १८ गते स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *