राजनीति

नेकपा एकीकृत समाजवादीका नेताहरु पदीय लोभमा यसरी डुबेपछि…(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ११ गते २०:५६
नेकपा एकीकृत समाजवादीका नेताहरु पदीय लोभमा यसरी डुबेपछि…(भिडियो रिपोर्टसहित)

११ कात्तिक २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यक्तिवादी र तानाशाहको संज्ञा दिँदै पार्टी विभाजन गरी नेकपा (एकीकृत समाजवादी) गठन गरेका नेताहरु पदीय लोभमा चुर्लुम्म डुबेका छन् ।

प्रतिनिधित्वको हिसाबले संसदको चौथो ठूलो दल संघीय सरकारमा महत्वपूर्ण भाग पाउँदा पाउँदै प्रदेश सरकारहरुमा ठूलै भाग लिन मरिमेटेर लागेको छ ।

पार्टी विभाजन नहुँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपालप्रति गरेको टिप्पणी हो यो । नेकपा एमाले विभाजन र त्यसअघि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी विभाजनको पनि एउटै कारण हो पार्टीभित्रको भागबण्डा ।

तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको शक्ति आफूमा कसरी केन्द्रित गराउने भन्ने विषयको होडबाजीले शीतयुद्ध सुरु भएको थियो । त्यसअघि पार्टीमा ओली र ओली गुटबाट अपमान सहनुपरेका नेता नेपाललाई माओवादीसँगको पार्टी एकीकरणपछि प्रचण्डलाई साथ लिएर अघि बढ्न सहज भएको थियो ।

यहीबीचमा पार्टी चरम विवादमा फँस्दा उहाँले पार्टीमा भागवण्डाको बार्गेनिङ कसरी गरिहनु भएको थियो भन्ने कुराको उदाहरण ओलीको यो अभिव्यक्तिबाट पनि थाहा हुन्छ ।

त्यसो त केपी ओली भीडको बोली बोल्ने भएकाले उहाँका भाषणहरु प्रशोधन गरेर मात्रै बुझ्नुपर्ने हुन्छ । तर नेता नेपालको बार्गेनिङबारे ओलीको अभिव्यक्तिमा आंशिक सत्यता थियो भन्ने कुरा स्वीकार गर्न सकिन्छ । यसको उदाहरण पछिल्लो समय नेता नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले पद प्राप्तीमा गरेको तरक्की पनि हो ।

संघीय संसदको चौथो दल नेकपा एकीकृत समाजवादी गठबन्धन सरकारमा शक्तिशाली सत्ता साझेदार हो । पछिल्लो पटक बागमती प्रदेश सरकारमा समाजवादी पार्टीले मुख्यमन्त्री पाएको छ । १३ सांसदसहित चौथो ठूलो दलका रुपमा रहेको यो पार्टी संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नु भएको छ ।

अनि प्रदेश एकमा पनि समाजवादी पार्टीले नै मुख्यमन्त्री पद लिँदैछ । जबकी यो प्रदेशमा पनि नेकपा एकीकृत समाजवादी पार्टी १० सांसद सहित चौथो ठूलो दल हो । यो पार्टीको संसदीय दलका नेता राजेन्द्र राई आगामी हप्ता मुख्यमन्त्रीको शपथ खान तम्तयार भएर बस्नु भएको छ ।

ओली नेतृत्वको सरकारमा आफूलाई बाइपास गरेको ठानेको नेपाल समूहले पछिल्लो पटक पार्टी विभाजनपछि राम्रै भाग प्राप्त गरिरहेको छ । गठबन्धन सरकार बनाउन साथ दिएकैले सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रले मन खोलेर प्रदेश सरकारको नेतृत्व सुम्पिइरहेका छन् ।

यी प्रदेशहरुमा समाजवादीको कांग्रेससँग आलोपालो सत्ता सञ्चालनको मौखिक समझदारी भएको छ । केपी शर्मा ओलीले पार्टीलाई प्राप्त बहुमत बचाउन नसकेर सत्ताबाट किक आउट हुन परेको, नेता नेपालले ओलीसँगको कटुताका कारण बहुमत प्राप्त पार्टीलाई विभाजनमा लगेको जस्ता कुराहरु सबैलाई प्रष्टै थाहा छ । पद र भागवण्डामा जति लिप्त रहे पनि नेताहरुमा घमण्ड र फूर्ति भने कत्ति पनि घटेको देखिँदैन ।

यो प्रवृत्ति सबैभन्दा बढी नेकपा एमाले र त्यसपछि एमालेबाटै दिक्षित नेकपा एकीकृत समाजवादीमा प्रष्टै देखिन्छ । ओली आफ्ना मन्तव्यमा पार्टी फुटेको नभई धुलो टकटकिएको भन्नुहुन्छ । उहाँको दम्भपूर्ण भाष्यले धेरैलाई बेखुसी बनाउँदै आएको छ । त्योभन्दा दम्भपूर्ण भाष्य समाजवादीका नेताहरुले प्रयोग गर्न थालेका छन् । उनीहरु भन्छन् नेकपा एमाले फुटेको होइन पुनर्गठन भएर समाजवादी पार्टी जन्मिएको हो ।

केपी शर्मा ओलीले पार्टीभित्र नेपाल समूहलाई गरेको अपमानका कारण नेपाल निकट नेता कार्यकर्ता र शुभेच्छुकहरु सँगै बस्ने परिस्थिति साँच्चै नबनेकै हो भन्नेमा सहमत थिए । तर विभाजनपछि सरकारमा जान यो पार्टीका नेताहरुमा जुन हदसम्मको लालसा देखिएको थियो त्यसले पार्टी सत्ता स्वार्थकै लागि मात्र विभाजन भएको थियो भन्ने कुरालाई पुष्टि गरिरहेको छ ।

पछिल्लो पटक प्रदेश सरकारहरुमा पनि समाजवादीले जसरी भागवण्डा खोजिरहेको देखिन्छ, त्यो भने उदेकलाग्दो छ । बढीमा एक वर्ष कार्यकाल रहेका प्रदेश सरकारहरुको नेतृत्वमा कांग्रेससँग आधाआधी समयको सम्झौता गरेर पदमै पुग्नुपर्ने कस्तो लोभ ? अनि नागरिकले यो पार्टीसँग कस्तो अपेक्षा गर्ने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्