राजनीति

अष्टलक्ष्मी शाक्यः भूँईको टिप्न खोज्दा पोल्टाको पनि यसरी गुम्यो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १० गते २०:२३
अष्टलक्ष्मी शाक्यः भूँईको टिप्न खोज्दा पोल्टाको पनि यसरी गुम्यो (भिडियो रिपोर्टसहित)

१० कात्तिक २०७८ काठमाडौं । पार्टी विभाजन हुँदा आफूलाई अध्यक्ष केपी ओलीसँगै सुरक्षित देखेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले केही दिनमै पद गुमाउनु परेको छ । लामै समयको अन्तर्संघर्षमा ओलीको विपक्षी लाइनमा उभिए पनि अन्ततः मुख्यमन्त्रीको स्वार्थमा फस्दा उहाँको पदमात्रै होइन साखसमेत गुमेको छ ।

भनिन्छ, लोभले लाभ र लाभले विलाप । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य लोभले लाभतिर र लाभबाट विलापको बाटोमा पुग्नु भएको छ । नेकपा एमालेमा लामै समय विद्रोह गरेर माधवकुमार नेपाल समूहमा प्रभावशाली बनिरहेकी उहाँ ‘विनाशकाले विपरीत बुद्धि’ भनेझैँ मुख्यमन्त्रीको लोभमा फस्नु भयो र नयाँ पार्टी गठन हुँदा त्यही लोभले नेपालको साथ छाडेर केपी ओलीको बल्छीमा फस्नुभयो ।

तर गत वर्ष नै मलाई मुख्यमन्त्री चाँहिदैन, चाहिएको होइन भन्ने अभिव्यक्ति दिएर सन्त देखिएकी अष्टलक्ष्मी कुनै संघर्षविनै ओलीले सिंहासन सुम्पिएपछि आफूलाई सम्हाल्न सक्नु भएन ।

नेपालको साथ नछाडेर समाजवादीमै रहेको भए बाँकी कार्यकालको मुख्यमन्त्रीका लागि प्रमुख दाबेदार उहाँ नै हुनुहुन्थ्यो । शाक्यलाई नै मुख्यमन्त्री बनाउनुपर्छ भन्ने स्पष्ट लाइनमा नेपाल विगतदेखि नै हुनुहुन्थ्यो । शाक्यले नेकपा एकीकृत समाजवादीमा साथ नदिएपछि अब उहाँका उत्तराधिकारीका रुपमा राजेन्द्र पाण्डे बागमतीको मुख्यमन्त्रीबन्नुहुने छ । यसले नेपालको साथ नछाडेको भए पार्टी विभाजनपछिको लाभ शाक्यलाई नै मिल्ने पुष्टि हुन्छ ।

नेकपाभित्र ठूलो अन्तर्संघर्ष र कलह हुँदा अष्टलक्ष्मी नेता नेपालतर्फको आड भरोसा हुनुहुन्थ्यो । नेकपा भत्किएर एमालेकै अस्तित्वमा फर्किएपछि पनि उहाँको भूमिका नेपाल समूहमा प्रसंशनीय थियो । उहाँ र उहाँ जस्तै केही नेताहरुले ओली प्रवृत्तिविरुद्धको संघर्षमा प्राप्त गरेको चर्चा र उचाइले नेपाललाई नयाँ पार्टी निर्माण गर्ने हिम्मत बढेको थियो ।

तर अन्तिम समयमा आएर देखिएको पदलोलुपताले क्षणभरमै शाक्यलाई मुख्यमन्त्रीको कुर्सीमा त पुर्‍यायो तर महिना दिनमै गुमेको पद र साख सायद नमिठो सपना जस्तो बन्यो ।

विगतमा नेता नेपालको साथमा रहँदा प्रधानमन्त्रीलाई केपी ओली मात्र र राष्ट्रपतिलाई विद्या भण्डारी मात्र उच्चारण गर्ने गरेकी शाक्य, एउटा पदका लागि चिप्लेकिरो जस्तो बन्दा धेरैलाई आश्चर्यमा पारेको थियो । कयौं शुभचिन्तकहरुले जिब्रो टोकेका थिए । तैपनि नेपालतिर लागेका सांसदहरुलाई फकाएरै भए पनि पद टिकाउने उहाँको अभिष्ट पूरा हुन सकेन ।

सांसदलाई आफ्नो पक्षमा ल्याउन नसकेपछि विश्वासको मत लिने म्याद नै थपेर अडिएकी शाक्यले अन्ततः नैकिताका आधारमा राजीनामाको बाटो समात्नु परेको छ । राजनीतिमा पदका लागि मिलेमतो हुनु, स्थायी शत्रु वा मित्र नहुनु वा जे पनि हुन्छ भन्ने बुझाई हुनु स्वभाविक हो । तर जे पनि हुँदा, स्थायी शत्रु वा स्थायी मित्र नहुँदा अन्ततः यी सबै सम्झौता वा छलकपटबाट पनि शक्तिमा पुग्नुपर्ने हो ।

आफ्ना दुई पाइला अगाडिको खाडल पनि देख्न नसक्नेले राजनीतिमा ‘जे पनि हुन्छ’ भनेर क्षणभरमै यो हदसम्मको लोभमा भासिनु कस्तो दूरदर्शिता हो । आफ्नो निर्णयले निमेषपछिको आफ्नै भविष्य अनुमान लगाउन नसक्ने नेतृत्वबाट नागरिकले के आशा गर्ने ? किन नेता मानिरहने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्