Main News

मुख्यमन्त्री शाक्यको राजीनामा स्वीकृत, नयाँ सरकार गठन गर्न आह्वान

हिमालय टिभी
२०७८ कार्तिक १० गते १७:००
मुख्यमन्त्री शाक्यको राजीनामा स्वीकृत, नयाँ सरकार गठन गर्न आह्वान

१० कात्तिक २०७८ काठमाडौं । बागमती प्रदेशको नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि कात्तिक ११ गते अपराह्न ३ बजेसम्मका लागि समयसीमा तोक्नुभएको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज दिनुभएको राजीनामा स्वीकृत भएलगत्तै प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि प्रदेश प्रमुख शर्माले बहुमत हस्ताक्षरसहितको दाबी गर्न आह्वान गर्नुभएको हो ।

उहाँले नेपालको संविधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम बहुमत प्राप्त गर्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री नियुक्तिको लागि दाबी गर्न आग्रह गर्नुभएको प्रदेशसभा सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले राससलाई जानकारी दिनुभयो ।

विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने निर्णय यसअघि नै गरिसकेको छ । गठबन्धनमा रहेका माओवादी केन्द्रका २३, कांग्रेसका २२ र एकीकृत समाजवादीका १३ गरी ५८ सांसद छन् । एमालेका ४३ सांसद मात्र छन् ।

यसअघि आजै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिनुभएको थियो । आफूले राखेको विश्वासको मत लिने प्रस्तावमा मत विभाजन हुने दिन प्रदेश सभा बैठकमा सम्बोधन गर्दै संविधानको धारा १ सय ६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताउनुभयो ।

शाक्यले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको पनि बताउनुभयो । भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्य नेकपा एमाले विभाजनपछि अल्पमतमा हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *