बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामा
१० कात्तिक २०७८ हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।
उहाँले बागमती प्रदेश सभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषण गर्नु हो । राजीनामा घोषणा गरेसँगै उहाँले प्रदेश प्रमुख यादव शर्मासमक्ष राजीनामा बुझाउनु भएको हो।
यसअघि प्रदेश सभालाई सम्बोधन गर्दै उहाँले नेपालको संविधानको धारा १६९ को उपधारा १(क) मा भएको व्यवस्था अनुसार मुख्यमन्त्री पदबाट मार्ग प्रशस्त गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘सभामुख महोदय, मैले कुरा प्रष्ट राख्नुपर्छ । अब यो कार्यसूचीमा मैले हेरें । दोस्रो कार्यसूची पनि रैछ । दोस्रो कार्यसूचीमा हामी किन जानुप¥यो र ? किन भन्दाखेरी मैले अघि पनि भने नि हामी संस्कारयुक्त बनाऔँ । द्वन्द्वलाई कम गरौँ । हामी एक अर्कामा सहयोग गरौँ । एक अर्कामा भावना जोडौँ । एक अर्कालाई यो प्रदेश बनाउनका लागि मिलेरै काम गरौँ । आफ्ना आफ्ना ठाउँ होला, जिम्मेवारी होला । आफ्ना आफ्ना जवाफदेहीता होला । पदीय दायित्व होला त्यो आफ्नै ठाउँमा छ । तर आखिरमा नमिलिकन सुखै छैन । साच्ची नै यो प्रदेश बनाउनलाई नमिली सुखै छैन । त्यसो भएको हुनाले मैले आज यो बागमती प्रदेशमा सभामुख महोदय यतिकुरा राखिसकेपछि मैले नेपालको संविधान, त्यसको भावना संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान हाम्रो त्यसको धारा १६९ को उपधारा १(क) मा भएको व्यवस्था अनुसार मैले आज यो ठाउँमा मुख्यमन्त्रीको नाताले सरकारको सिंगो नेतृत्वको नाताले मार्ग प्रशस्त गरेको छु ।’
मुख्यमन्त्री शाक्यले आगामी दिनमा बागमती प्रदेश सभामा मिलेरै अगाडी बढ्नका लागि राजीनामा दिनु नै राम्रो लागेकाले राजीनामा दिएको स्पष्ट पार्नुभयो । नेकपा(एमाले) संसदीय दल, मन्त्रीहरु लगायत सबैको भावना अनुसार आफुले पदबाट मार्ग प्रशस्त गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘यही तरिकाबाट हामीले एक अर्कामा सहयोग गरौँ भन्ने भावनालाई नै आत्मासात राखेर त्यो भावनालाई नै व्यक्त गर्नेगरी र आगामी दिनमा सम्झिने, आगामी दिनमा मिलेरै अघि बढ्नको लागि यही तरिका राम्रो हुन्छ भन्ने मलाई लाग्छ । यही बाटो ठिक हुन्छ भन्ने हामीलाई लाग्यो ।’
उहाँले आगामी दिनमा एमाले प्रतिपक्षको रुपमा रहेपनि बागमती प्रदेशको विकासका लागि मिलेर अगाडी बढ्न तयार रहेको बताउनुभयो । सत्तापक्ष र विपक्षबीचमा परम्परागत सोच राखेर प्रदेशको विकास गर्न नसकिने भन्दै उहाँले बागमतीलाई नमूना प्रदेश बनाउनका लागि एकअर्कालाई सहयोग गरेर अगाडी बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले आफ्नो कार्यकालमा सबैको सहयोग पाएको भन्दै सहयोग गर्नुहुने सभामुख, उपसभामुख, दलका नेता, प्रदेश सभा सदस्यहरु, सुरक्षा निकाय, कर्मचारी, पत्रकार र संघसंस्थाहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
बागमती प्रदेश सभाको अर्को बैठक सूचना जारी गरेर बोलाइने सभामुखले जानकारी दिनुभयो ।
प्रतिक्रिया