Main News

हेडफोनले यसरी घटाउँदै श्रवण शक्ति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १० गते १४:३८
हेडफोनले यसरी घटाउँदै श्रवण शक्ति (भिडियो रिपोर्टसहित)

१० कात्तिक २०७८ काठमाडौं । नाक, कान, घाँटीको समस्या लिएर अस्पताल पुग्ने बिरामीको संख्या पछिल्लो समय बढ्दै गएको छ । हेडफोन लगाएर लामो समयसम्म ठुलो श्वर पारी गीत सुन्ने बानीले सानै उमेरदेखि सुन्न सक्ने क्षमतामा समस्या आउने गरेको चिकित्सक बताउँछन् ।

वीर अस्पतालमा दैनिक ५० देखि १ सय जनासम्म नाक, कान, घाँटीको समस्या लिएर बिरामी आउँछन् । त्यसमध्ये सबैभन्दा बढी कानको समस्या लिएर बिरामी आउने गरेका छन् ।

नेपालमा प्रत्येक १ सय जनामा करिब ३ जनालाई कानको समस्या हुने गरेको तथ्याङ्क छ । प्रदुषणसँगै बढ्दै गएको यो समस्यालाई प्रविधिहरुको अत्यधिक प्रयोगले थप बढाएको छ ।

पछिल्लो समय बालबालिका तथा किशोरकिशोरीले कानमा हेडफोन राख्ने र ठुलो स्वरमा गीतसंगीत सुन्ने गर्नाले श्रवण शक्ति कम हुँदै गएको विशेषज्ञको भनाइ छ । अझ कोरोना संक्रमणका कारण भर्चुअल माध्यमबाट हुने पढाइमा पनि हेडफोन या एयरफोन अनिवार्य जस्तै बन्दा समस्या बढ्दो क्रममा छ ।

सुर्ति चुरोटजस्ता पदार्थ सेवन गर्ने व्यक्तिमा पनि यस्तो समस्या बढी देखिने गरेको छ । यस्ता समस्या बढ्दै गइ क्यान्सर हुनसक्ने जोखिम रहन्छ । नेपालमा एक लाखभन्दा बढी मानिस नाक, कान, घाँटीको क्यान्सरबाट पीडित भएको तथ्यांक छ ।

अस्वस्थ्यकर खानपान,अव्यवस्थित जीवनशैलीले पनि हाम्रो स्वास्थ्यमा गम्भीर असर पुग्ने गरेको छ । स्वस्थ जीवनशैली अपनाउन सके नाक, कान, घाँटीलगायत समस्यामा कमी आउन सक्छ ।

नाक, कान, घाँटीको समस्या जटिल प्रकृतिको समस्या हुँदै गएको विशेषज्ञहरुको बुझाइ छ । जसले गर्दा दीर्घकालिन रुपमा नाक, मुख र कानको क्यान्सर भई मृत्यु समेत हुने खतरा छ । त्यसैले यस्तो समस्यालाई समय छँदै गम्भीर रुपमा लिनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *