राजनीति

पालिकामा एमालेको अधिवेशन, केन्द्रको दबाबमा सर्वसम्मत नेतृत्व चयन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ९ गते २०:५२
पालिकामा एमालेको अधिवेशन, केन्द्रको दबाबमा सर्वसम्मत नेतृत्व चयन (भिडियो रिपोर्टसहित)

९ कात्तिक २०७८ काठमाडौं । देशभरका ६ सय भन्दा बढी स्थानीय तहमा आज नेकपा एमालेले पालिका अधिवेशन गरेको छ । तर सबै जसो पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।

यसले देशमा लोकतान्त्रिक पद्धतिको विकास र समृद्धिका लागि सबै शक्ति लाग्नुपर्ने धारणा सार्वजनिक रुपमा व्यक्त गर्ने स्वयं राजनीतिक दल नै लोकतान्त्रिक पद्धति र प्रक्रिया नअपनाएको आरोप लागेको छ । तर नेकपा एमालेले भने यो आरोपलाई ठाडै अस्वीकार गरेको छ ।

नेपालको सबैभन्दा ठूलो पार्टी नेकपा एमाले अहिले महाधिवेशनमा होमिएको छ । गत शनिबार ६ हजारभन्दा बढी वडा अधिवेशन गरेको एमालेले मंगलबार छ सयभन्दा बढी स्थानीय तहमा नेतृत्व चयन गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन नै दिनुभएको छ ।

पार्टीले पत्राचार नै गरेर सर्वसम्मत नेतृत्व चयन गर्न भनेको छ । पार्टीको आन्तरिक लोकतन्त्रका लागि निर्वाचन अपरिहार्य मानिन्छ । तर, एमालेले अधिकांश स्थानमा नेतृत्वको निर्देशनमा स्थानीय तहमा लोकतान्त्रिक अभ्यास हुन सकेन । आफूलाई लोकतान्त्रिक पार्टी दाबी गर्ने एमालेमा लोकतान्त्रिक अभ्यास गर्न चाहेन ।

पार्टी अध्यक्ष ओलीले तल्लो तहदेखि नै आफू अनुकूल नेतृत्व ल्याउनका लागि सर्वसम्मत नेतृत्वको डण्टा चलाएको टिप्पणी हुने गरेको छ । अनि ओली नै एमाले र एमाले भनेकै ओली भन्ने भाष्य निर्माण गर्न खोजिएको भनेर बुझ्नेको पनि कमी छैन । तर अध्यक्ष ओली यी सबै कुरा ठाडै अस्वीकार गरेर देशभर लोकतान्त्रिक रुपमै सर्वसम्मत रुपमा नेतृत्व चयन भइरहेको दाबी गर्नुहुन्छ ।

अध्यक्ष ओलीले लोकतान्त्रिक रुपमै सर्वसम्मत नेतृत्व चयन भएको दाबी गरे पनि सहमति हुन नसकेका कतिपय वडा र पालिकामा अधिवेशन हुन सकेको छैन । तर एमालेले भने बाढी पहिरो र डुबानका कारण ती ठाउँमा अधिवेशन हुन नसकेको भनेको छ ।

बाढी, पहिरो, डुबानलाई कारण देखाए पनि त्यसको राजनीतिक कारण अर्कै छ । अर्थात पार्टी भित्रको विवादले अधिवेशन हुन नसकेको स्पष्ट छ । उपाध्यक्ष भीम रावलले सुदूरपश्चिम प्रदेशको कुनै पनि वडा र पालिकामा अधिवेशन नभएको बताउनु यसकै कारण हो ।

मंगलबार बिहान विराटनगरमा भएको कार्यक्रममा अध्यक्ष ओलीलाई यसको खण्डन गर्नु परेको थियो । तर पनि अध्यक्ष ओली अहिलेसम्म कुनै पनि ठाउँमा निर्वाचनबाट कमिटी चयन भएको वा विवाद भएको भन्ने जानकारी नआएकाले पार्टी एकताबद्ध रुपमा अघि बढेको दाबी गरिरहनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्