Main News

प्रधानन्यायाधीशको राजीनामा माग गरेका न्यायाधीशहरुले अघोषित इजलाश बहिस्कार जारी राख्ने

हिमालय टिभी
२०७८ कार्तिक ९ गते १७:०७
प्रधानन्यायाधीशको राजीनामा माग गरेका न्यायाधीशहरुले अघोषित इजलाश बहिस्कार जारी राख्ने

९ कात्तिक २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गरेका १५ न्यायाधीशले अघोषित इजलाश बहिष्कारलाई निरन्तरता दिने भएका छन्।

हिजोदेखि इजलाश अघोषित बहिष्कार शुरू गरेका १५ न्यायाधीश आज पनि मुद्दा सुनुवाइमा सहभागी भएनन । प्रधानन्यायाधीश राणाले राजीनामा नदिने अडान लिएपछि न्यायाधीशहरु इजलास बहिष्कारलाई निरन्तरता दिने पक्षमा गएका हुन ।

आज बिहान भएको छलफलका क्रममा प्रधानन्यायाधीश जबराले प्रश्न उठे जति न्यायाधीशहरूले राजीनामा दिने भए आफू पनि तयार रहेको जवाफ दिनु भएको थियो । त्यसपछि आफ्नो चेम्बरमा फर्किएका न्यायाधीशहरूले आज पनि मुद्दाको सुनुवाइमा सहभागी नहुने अघोषित निर्णय लिए।

न्यायधीशहरुले हिजो प्रधानन्यायाधीशले डाकेको ‘फुल कोर्ट’ बैठकसँगै इजलाश पनि बहिष्कार गरेका थिए।

जबरालाई भेटेपछि पनि आन्तरिक छलफलमा जुटेका न्यायाधीशहरु अझै केही दिन इजलाशमा सहभागी नहुने निष्कर्षमा पुगेका छन् । न्यायाधीशहरुले भोलि बिहान साढे ११ बजे थप छलफल गर्ने भएका छन्।

न्यायाधीशहरुले आज बिहान आन्तरिक छलफल गरी प्रधानन्यायाधीशलाई राजीनामा दिन सुझाव दिएका थिए । तर प्रधानन्यायाधीश जबराले संवैधानिक इजलाशमा बसेका अरु न्यायाधीशले राजीनामा दिए आफूले पनि दिने बताउनुभएको थियो ।

नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार, पूर्वन्यायाधीश फोरम, पूर्वप्रधानन्यायाधीशहरुले पनि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने सुझाव दिएका छन् । मन्त्रिपरिषद्‌मा भाग मागेकोलगायतका विषयले प्रधानन्यायाधीश जबरा पछिल्लो समय विवादमा तानिनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *