Main News

माेतीपुर घटनाको भिडियो लिक: गोली लागेका घाइतेमाथि प्रहरीको अमानवीय व्यवहार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ८ गते २०:३५
माेतीपुर घटनाको भिडियो लिक: गोली लागेका घाइतेमाथि प्रहरीको अमानवीय व्यवहार (भिडियो रिपोर्टसहित)

८ कात्तिक २०७८ रुपन्देही । गत असोज २४ गते रुपन्देहीको मोतिपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ४ जनाको मृत्यु भयो । त्यसमध्ये रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ५ सित्तलपार्टीका ३८ वर्षीय वीरेन्द्र कुर्मीको पनि प्रहरीको गोली लागेर निधन भयो । कुर्मीका परिवारले वीरेन्द्रलाई प्रहरीले समातेर गोली हानेर मारेको दाबी गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन् ।

यो दृश्यमा भएको संवाद ध्यान दिएर सुन्नुहोस् । यो भिडियो गत असोज २४ गते रुपन्देहीको मोतिपुरमा भएको झडपमा घाइते भएका वीरेन्द्र कुर्मीको हो । चोटले छटपटाइरहेका घाइते कुर्मीलाई उपचार गर्न लैजानुको साटो प्रहरीले आफ्नो गाडीमा राखेर ‘अब तँ मर्ने भइस्’ भनेर यातना दिइरहेका छन् ।

घटना असोज २४ गतेको हो र त्यही दिन कुर्मीको मृत्यु भएको थियो । यो भिडियो हालै मात्र सार्वजनिक भएको हो । र यो भिडियो कुर्मीको परिवारले पनि हेरेको छ । भिडियो हेरेपछि परिवारमाथि थप पीडा थपिएको छ ।

गोली लागेर घाइते भएका र पीडाले छटपटाइरहेका उहाँलाई प्रहरीले समयमा नै उपचारका लागि अस्पताल लगेको भए ज्यान जोगिन्थ्यो कि भन्ने परिवारलाई लागेको छ । र परिवारले कुर्मीलाई प्रहरीले पक्रेर हत्या गरेको आरोप लगाएको छ ।

मजदुरी काम गर्ने कुर्मी सधैं झै कामका लागि मणिग्राम जाँदै गर्दा पत्थरगञ्जमा पुग्दा प्रदर्शनकारी र प्रहरीबीचको झडपमा परेको परिवारको भनाइ छ । र प्रत्यक्षदर्शीले पनि प्रहरीले पक्रिँदासम्म कुर्मीलाई गोली नलागेको दाबी गरेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार प्रहरीले भ्यानमा राख्दासम्म वीरेन्द्रलाई गोली लागेको थिएन । दाहासंस्कारका क्रममा आफन्तले हेर्दा छाती र कम्मरमा गोली लागेको प्रष्ट देखिन्थ्यो । टाउकोको पछाडिको भागमा समेत चोट लागेको थियो ।

छोराछोरी हुर्किरहेका बेला घरको कमाउने मान्छे नै नरहेपछि परिवारको विचल्ली भएको छ । कलिलै उमेरमा कलावतीले जीवनसाथी गुमाउनु भएको छ । कुर्मी फर्केर त आउनु हुन्न तर उहाँका सन्तान अहिले पनि बुबा आउने र मिठो खानेकुरा ल्याइदिने आशामा परसम्म आँखा ओछ्याइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *