Main News

सर्वोच्चको समस्याबारे न्यायाधीशहरुले भोलि प्रधानन्यायाधीशसँग छलफल गर्ने

हिमालय टिभी
२०७८ कार्तिक ८ गते १५:०२
सर्वोच्चको समस्याबारे न्यायाधीशहरुले भोलि प्रधानन्यायाधीशसँग छलफल गर्ने

८ कात्तिक २०७८ काठमाडौं । फूलकोर्ट बहिस्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरुले न्यायालयमा देखिएको समस्याहरुबारे भोलि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग छलफल गर्ने भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कार्यशैलीप्रति असन्तुष्ट १४ जना न्यायाधीशको आज बसेको बैठकले भोलि उहाँसँगै छलफल गर्ने निर्णय गरेको हो ।

बैठकले प्रधानन्यायाधीश जबराकै कारण पछिल्लो समय न्यायालय विवादमा परेकाले यसको निकास प्रधानन्यायाधीशले नै दिनुपर्ने निष्कर्ष पनि निकालेको छ । तर भोलि प्रधानन्यायाधीश जबराको जवाफ सुनेपछि फेरि सबै बसेर छलफल गर्ने र एउटा निर्णयमा पुग्ने सहमति न्यायाधीशहरुबीच भएको छ ।

प्रधानन्यायाधीश जबराकै कारण न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेको न्यायाधीशहरुको निष्कर्ष छ । प्रधानन्यायाधीश जबराले आज दिउँसो बोलाएको पूर्ण बैठक बहिष्कार गरेर न्यायाधीशहरु छुट्टै छलफलमा बसेका थिए ।

प्रधानन्यायाधीश जबराले हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन र वरिष्ठ अधिवक्ता उपाधिका विषयमा छलफल गर्न आजका लागि सर्वोच्च अदालतको पूर्ण बैठक बोलाउनुभएको थियो ।

तर अरु न्यायाधीश छुट्टै बैठकमा बसेपछि फुलकोर्ट बैठक बस्न सकेन । र खाजा समयसम्म न्यायाधीशहरु बैठकमा रहेकाले इजलास पनि बस्न सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *