Main News

आफ्ना नजिकका सञ्चार माध्यमलाई मात्रै बजेट वितरण गर्दै लुम्बिनी सरकार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ७ गते २१:०२
आफ्ना नजिकका सञ्चार माध्यमलाई मात्रै बजेट वितरण गर्दै लुम्बिनी सरकार (भिडियो रिपोर्टसहित)

७ कात्तिक २०७८ रुपन्देही । आफ्ना नजिकका र पहुँचवाला सञ्चार माध्यमलाई मात्रै बजेट वितरण गरेको भन्दै लुम्बिनी सरकारप्रति आलोचना भएको छ । मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माको ‘अफसेट प्रेस’को विकास तथा प्रवर्द्धनका लागि मात्र प्रदेश सरकारले २० लाख छुट्याएको र अन्य आफू मातहतका सञ्चार माध्यमलाई मात्रै बजेट विनियोजन गरेको भन्दै मुख्यमन्त्री कुलप्रसाद केसीको चौतर्फी आलोचना भएको हो ।

जनता धानबाली डुबेर पुर्पुरोमा हात राखिरहँदा लुम्बिनी प्रदेश सरकार भने कार्यकर्ताका लागि ढुकुटीमा लामो हात गर्न ब्यस्त देखिएको छ । लुम्बिनी प्रदेश सरकारले संशोधित बजेट तथा कार्यक्रममार्फत् आफूखुसी बजेट विनियोजन गरी पार्टी निकटका पत्रकार र संचार संस्थालाई पोसेको छ।

मुख्यमन्त्री कुलप्रसाद केसीले पार्टी निकट व्यक्तिका सञ्चार संस्थाको विकास तथा प्रवर्द्धनका नाममा लाखौँ रकम बाँडेपछि चौतर्फी आलोचना भैरहेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिङ् विकको ‘अफसेट प्रेस’लाई मात्र २० लाख रुपैंया छुट्याइएको र माओवादी सांसद निकट रेडियोलाई समेत लाखौँ रकम विनियोजन गरेको भेटिएको छ । प्रकाशन तथा प्रसारण समाज, मिडिया एलायन्स लगायतका संचार संवद्ध संस्थाले विज्ञप्ती जारी गर्दै राज्यको ढुकुटीमाथिको ब्रम्हलुट भन्दै असन्तुष्टी जनाएका छन् ।

लुम्बिनी प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा माओवादी पार्टी निकट व्यक्तिदेखि सांसदसम्मलाई विभिन्न बहानामा रकम दिइएको छ। राज्यकोषको चरम दुरुपयोग गर्दै एउटै व्यक्तिले विभिन्न नाममा रकम लगेका छन् । व्यक्तिका संचारमाध्यमलाई भवन बनाउनदेखि उपकरण खरिदसम्म रकम विनियोजन गर्दा लोकलाजलाई समेत ख्याल गरिएको छैन ।

संचारकर्मीलाई व्यावसायिक क्षमता विकासका लागि राज्य कोषबाट केही रकम छुट्याउने चलन पुरानै भएपनि लुम्बिनी सरकारको रकम पजनीले त पूर्वराजा ज्ञानेन्द्रकालको हण्डीलाई पनि माथ ख्वाएको छ ।

अझ अनौठो कुरा त पहुँचका आधारमा राज्यकोषको दुरुपयोग गर्नेले हाक्काहाक्की रकम लगेको दाबी गरेका छन् –मानौं उनलाई राफेल चिठ्ठा परेको छ। निजी पत्रिका र साझेदारीको प्रेस खरिदमा तीस लाख मुठ्याएका मुख्यमन्त्रीका प्रेस संयोजक मानसिह विश्वकर्मा पहिलेदेखि नै पहल गरेपनि अहिले पाएकोमा गर्व महसुस गर्नुहुन्छ ।

उता राज्यकोषलाई अटालीको भकारी सरी पैसा बाँडेको माओवादी नेतृत्वको सरकारका प्रवक्ता यस विषयमा छानबिन गरेर अगाडी बढ्ने बताउनुहुन्छ ।

यसैबीच सञ्चार माध्यमका प्रतिनिधिमूलक संघसंस्थाहरुले तत्काल व्यवसायिक र गुणात्मक पत्रकारिताका लागि समानुपातिक विज्ञापन वितरण गर्न र बक्सिसको शैलीमा रकम बाँड्न बन्द गर्न माग गरेका छन् । गर्नेलाई भन्दा देख्नेलाई लाजको शैली अपनाएको सरकारले तत्काल जनताको रगत र पसिनाबाट कोषमा जम्मा भएको रकम सदुपयोग गर्न र गल्ती सुधार गर्न जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *