राजनीति

पाएको जिम्मेवारी पूरा गर्न नसक्ने तर राजीनामा दिइरहने भीम रावल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ७ गते २०:४३
पाएको जिम्मेवारी पूरा गर्न नसक्ने तर राजीनामा दिइरहने भीम रावल (भिडियो रिपोर्टसहित)

७ कात्तिक २०७८ काठमाडौं । पार्टीभित्रको असन्तुष्टिका कारण पटकपटक राजीनामा दिने गरेका एमाले उपाध्यक्ष भीम रावलले पछिल्लो पटक १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजक पदबाट राजीनामा दिने घोषणापछि उहाँको राजीनामा प्रकरणको चर्चा हुन थालेको छ । पाएको जिम्मेवारी पूरा गर्न नसक्ने तर राजीनामा दिइरहने प्रवत्तिले उहाँको आलोचना हुने गरेको हो ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावल र राजीनामा पयार्यवाची जस्ता लाग्छन् । पार्टीमा असहमति भयो कि राजीनामा, उहाँको ब्रान्ड नै राजीनामा जस्तो । पार्टी र सरकारमा मन मिलेन या भाग मिलेन भने सिँधै राजीनामा । राजीनामा दिएपछि फेरि अडानमा नटिक्ने पनि उहाँको चिरपरिचित पहिचान हो । पछिल्लोपटक उहाँले पार्टीभित्रको १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजक पदबाट राजीनामा दिनुभएको छ । राजीनामामा नमिलेको कुरा खाली १० बुँदे अन्तर्गत सुदूरपश्चिम प्रदेशको एमालेको इन्चार्ज चाहियो । केटाकेटीले पिपलगेडी नकिनिदिए भातै खान्नको शैलीमा उहाँले यसअघि पनि धेरै चोटी राजीनामाको घुर्की लगाएर पद पड्काउनुभएको छ। बरु यसपटकको घुर्कीले चाहीँ दाल गल्लाजस्तो पनि छैन, पद झर्लाजस्तो पनि छैन ।

यसअघि रावलले गत साउन ३ गते प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवालाई विश्वासको मत दिनुपर्ने भएपछि सांसद पदबाट राजीनामा दिनुभएको थियो । तर सांसद पदबाट राजीनामा दिँदा पत्रकारका अघि नैतिकताको प्रहशन गर्नुभएका रावलले राजीनामा फिर्ता लिएको विज्ञप्तीसमेत सार्वजनिक गर्नुभएन ।

आफैंले राजीनामा दिएको संसदमा कुन मुखले बैठकमा जानु र ठूलो कुरा गर्नू ? हुनत हिजो आफैंले गाली डायरी सिर्जजना गरेका पार्टी अध्यक्ष ओलीकै पेलानबाट तेल निक्लने भएपछि न हो–रावलले राजीनामाको नयाँ नौटंकी सिर्जना गरेको ।

रावल र राजीनामाले कम्तिमा पनि राजनीति स्मरण शक्ति भएका मान्छेलाई गम्भीर बनाउँदैन, मुर्छा पर्ने गरी हँसाउछ । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन गठित समितिबाट पनि उहाँले घुर्कीकै भरमा राजीनामा दिनुभएको थियो । राजीनामा दिएर मागेको पद र नियुक्ति लिने बानी परेका रावलले आठौं महाधिवेशनमा त उपाध्यक्षमा कार्यकर्ताले धुलो चटाइदिएपछि केन्द्रीय सदस्यको नै सपथ नखाइ बस्नुभएको थियो ।

माधव नेपाल सरकारमा गृहमन्त्री बन्न पाउने भएपछि मात्र उहाँले केन्द्रीय सदस्यको सपथ लिनुभएको थियो । २०६३ सालमा संसद पुनर्स्थापना भएर बनेको सरकारमा पनि परराष्ट्रमन्त्री दाबी गर्नुभएका रावलले शिक्षामन्त्रीमा थन्किनुपर्ने भएपछि राजीनामाकै बाल हठ प्रदर्शन गर्नुभएको थियो ।

नेता जिम्मेवार हुन्, बोली विश्वासिलो होस् कदम पत्याउन लायक होस् अनि हरेक अप्ठ्यारामा पनि धैर्यवान होउन् । तर उत्तेजनामा बोल्ने र लोभमा फस्ने बानीले रावलकै जस्तो हालत पो हुन्छ कि ? हिजो जुन अवस्थामा एमालेमा जसरी बसियो सायद रावलले यो अवस्थाको आँकलन गर्न कमजोरी गर्नुभयो कि ? अब त कुना बसी रुनु कि डेरा सर्नु बाहेक अर्को विकल्प छ र ?

माधव नेपालको साथ छोडेका रावललको पटकपटकको राजीनामा प्रकरण हाँस्यास्पद देखिन्छ । यसअघि भन्ने गरिएको पार्टीभित्र अध्यक्ष ओलीको स्वेच्छाचारिता, हुकुमी र जहानियाँ शैली परिवर्तन गछौँ र पार्टीलाई नयाँ गति दिन्छौँ भनेर ओलीकै शरणमा फर्किएपछि फेरि पटकपटक राजीनामाको एकतारे बजाएर कस्तो धुन निकाल्न खोज्नु भएको होला ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्