बार पदाधिकारी र प्रधानन्यायाधीशबीच न्यायालय सुधारबारे छलफल, भोलि फुलकोर्ट बैठक
![बार पदाधिकारी र प्रधानन्यायाधीशबीच न्यायालय सुधारबारे छलफल, भोलि फुलकोर्ट बैठक](https://www.himalayatv.com/wp-content/uploads/2020/07/sarbochcha.jpg)
७ कात्तिक २०७८ काठमाडौं । न्यायालय र नेतृत्वमाथि बारम्बार प्रश्न उठेपछि त्यसबारे छलफलका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले भोलिका लागि फुलकोर्ट बोलाउनुभएको छ ।
नेपाल बार एशोसिएशनसँग आज भएको छलफलपछि उहाँले भोलि दिउँसो साढे १ बजेका लागि फुलकोर्ट बोलाउनुभएको हो । बैठकमा बार एशोसिएशनका प्रतिनिधिलाई पनि सहभागी गराइने सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।
बैठकमा न्याय क्षेत्रमा देखिएको विसंगति, न्यायपालिकाको विकृति, विसंगति अनियमितता, भ्रष्टाचार एवं विचौलियाको चलखेलबारे न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन लगायत विषयमा छलफल हुने दाहालले बताउनुभयो ।
बैठकले बरिष्ठ अधिवक्ताको जिम्मेवारी पनि तोक्नेछ । त्यसअघि आज बार एशोसिएशनको कार्यसमितिसँगको छलफलमा प्रधानन्यायाधीश जबराले न्यायापालिकाको स्वच्छताका लागि उठेका विषयमा आफू सकारात्मक भएको बताउनुभएको थियो ।
उहाँले आफ्ना कमजोरी पनि सुधार गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । मन्त्रिमण्डलमा भागबण्डा खोजेकोदेखि स्वार्थमा रहेर पेशी तोक्नेसम्मको समाचार बाहिरिएपछि प्रधानन्यायाधीश जबरामाथि कानून व्यवसायीले सुधारका लागि दबाब दिँदै आएका छन् ।
प्रतिक्रिया