अध्यक्ष ओलीले गरे पाँच दलीय गठबन्धनको यस्तो आलोचना, पाँच दल नै प्रतिगमनकारी भएको आरोप (भिडियो रिपोर्टसहित)
६ कात्तिक २०७८ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गर्नु भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले सरकार र सत्तारुढ गठबन्धनलाई प्रतिगमनकारीको संज्ञा दिँदै उनीहरुले देशलाई दिशाहीन अवस्थामा पु¥याउने प्रयास गरिरहेको आरोप समेत लगाउनु भयो ।
आज देशभरका पार्टी वडा अधिवेशनहरुको भर्चुअल माध्यामबाट एकसाथ उद्घाटन गर्दै उहाँले ३ महिनाको अवधिमा सरकारले मुलुकलाई अराजकतातर्फ धलेकिरहेको दावी समेत गर्नु भयो । उहाँले सत्तारुढ पाँच दलीय गठबन्धनले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पारेर प्रतिगामी शक्तिहरुको सेवा गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रतिगामी शक्तिहरु देशलाई अस्थिरतामा धकेल्ने काम गरिरहेका छन् । यो ३ महिनाको अवधिमादेखि सकियो–देशलाई अस्थिरतामा धकेल्ने, अग्रगमनमा व्यवधान खडा गर्ने, अग्रगमन हुन नदिने, स्वेच्छाचारिता, मनपरीतन्त्र देशमा लागू गर्ने, अनुशासनहीनता, अराजकता राज्यस्तरबाटै गर्ने, यस खालका क्रियाकलापहरु हामीले देखिराखेका छौ र यो विपरित बाटो हो । यो प्रतिगमनतर्फको बाटो हो ।’
अध्यक्ष ओलीले आफ्नो पार्टीले आगामी निर्वाचनमा हरेक तहमा शान्दार ढंगले बहुमत ल्याउने गरी तयारी गरिरहेको दोहो-याउँदै सोही अनुसार पार्टीको काममा जुटन पनि नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । उहाँले एमाले समाप्त हुन्छ भन्ने भ्रम चिरिएको उल्लेख गर्दै विरोधीहरुको भ्रममा नपरी देश निर्माणको अभियानमा जुटन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘आगामी निर्वाचनमा हरेक तहमा शानदार ढंगले बहुमत ल्याउने तयारी पनि गरिरहेका छौं । त्यस अनुसारले आन्दोलनमा जुटन म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु । एउटा हल्ला चल्यो अस्ति भर्खर । त्यो हल्ला अव कमजोर हुँदै गएको छ । तीनका स्याल हुँइयाहरु कमजोर हुँदै गएका छन । तीनका आवाजहरु सुक्दै गएका छन । हिजो नेकपा एमालेलाई सरकारबाट हटाएपछि एउटा हल्ला चल्यो । अव एमाले समाप्त भयो । एमाले युगको अन्त्य भो । अनेक प्रकारका भ्रमपूर्ण हल्लाहरु चलाइए । तर म कमरेडहरुलाई भन्न चाहन्छु–ती बेकारका बलेसीका पानी रहेछन भन्ने कुरा स्पष्ट भइसक्यो । यी बलेसीका पानीका फोका हुन, तीनका आयू लामो छैन ।’
अध्यक्ष ओलीले पार्टीभित्र उन्नतस्तरको एकता रहेको दावी समेत गर्नु भयो । माधव नेपालसमेत बाहिरिएपछि पार्टी एकतावद्ध रहेको उहाँको भनाइ थियो ।
प्रतिक्रिया