पदयात्राका लागि लाङटाङ, यसकारण रोज्छन् पर्यटक (भिडियो रिपोर्टसहित)
६ कात्तिक २०७८ लाङटाङ । पदयात्रामा रमाउने पर्यटकका लागि उपयुक्त गन्तब्य हो, लाङटाङ । संघीय राजधानीबाट नजिक र तुलनात्मक रुपमा छोटो समयमा पूरा हुने भएकाले पनि यो पदमार्गमा पर्यटक आकर्षित छन् ।
सगरमाथा र अन्नपूर्ण बेस क्याम्पपछि सबैभन्दा बढी रुचाइएको पर्यटकीय गन्तब्य लाङटाङमा हिमालको अभूतपूर्व दृष्यावलोकन गर्न सकिन्छ ।
एक हजार सात सय १० वर्ग किलोमिटरमा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज विश्वकै दुर्लभ मानिने रातो हाब्रे लगायत ४६ जातिका स्तनधारी र तीन सय १५ थरीका पंक्षीको बासस्थान हो ।
धार्मिकस्थल गोसाईँकुण्ड र क्याञ्जिङ उपत्यका यस निकुञ्जका प्रमुख आकर्षणका केन्द्र हुन् । उकाली–ओराली, झरना, वन वनस्पति, चट्टान, पहाड तथा हिमाली भेगको स्थानीय भेषभूषा रुचाउने पर्यटकका लागि लाङटाङ उपयुक्त गन्तब्य हो ।
काठमाडौंबाट करिब एक सय २० किलोमिटर बसमा यात्रा गरेपछि रसुवाको स्याफ्रुबेसी पुगिन्छ । त्यहाँबाट शुरु हुन्छ, लाङटाङ पदयात्रा । स्याफ्रुबेसीबाट झोलुङ्गे पुल तरेर लाङटाङ खोलाको तिरैतिर कटुसको सुगन्ध र गुराँसका रंगीविरंगी जंगलको दृष्यपान गर्दै अघि बढ्दा कयौँ कोसको दूरी थाहै नपाइ पार भइसकेको हुन्छ ।
अझ विभिन्न स्थानमा खुलेका सुविधासम्पन्न लज तथा व्यावसायीको न्यानो आतिथ्य लाङटाङका विषेशता हुन् । साढे दुई दिनको यात्रामा खाम्जिङ, शेर्पा गाउँ, रिम्चे, लामा होटेल, घोडा तबेला, लाङटाङ गाउँ हुँदै पदयात्राको अन्तिम गन्तब्य क्यान्जिङ पुगिन्छ । बाटोमा भेटिने स्थानीय र खच्चरको क्याराभान पर्यटकका लागि आकर्षणका पक्ष हुन् ।
समुद्री सतहबाट चार हजार मिटरको उचाईमा रहेको क्यान्जिङ उपत्यका लाङटाङ खोलाको उद्गम स्थल हो । त्यहाँबाट दुई घण्टाको ठाडो उकालो लागेपछि क्याञ्जिङ री पुगिन्छ । रीबाट आँखै अगाडी लाङटाङ हिमाल देखिन्छ ।
सात हजार दुई सय २७ मिटर अग्लो लाङटाङसँगै ६ हजार मिटरभन्दा अग्ला चाङ्बु र युब्रा हिमाल पनि यहिँबाट देखिन्छन् । दुई हिमालको बीचबाट बग्ने लिरुङ हिमनदी र त्यसबाट बनेको ताल प्रकृतिप्रेमीका लागि अभूतपूर्व दृष्य हुन् ।
यस्तै उत्तरपूर्वमा देखिने ५५ सय मिटर अग्लो याल्ला पिक, दक्षिण पश्चिममा देखिने सेर्गो री, काङजा हिमाल तथा दक्षिणमा देखिने नयाँ काग्रा हिमालका कारण क्यान्जिङ री लाङटाङ पदयात्रामा छुटाउनै नहुने स्थान हो ।
२०७२ सालमा गएको महाभुकम्पका कारण खसेको हिम पहिरोको पीडा भुलाउने प्रयासमा छ, लाङटाङ । अझै पनि भुकम्पका अवषेश देख्न सकिन्छ । तर पनि पर्यटकको आतिथ्यकालागि लाङटाङ थप तयार भएर बसेको छ।
प्रतिक्रिया