प्रधानमन्त्री देउवाले भने–एमसीसी पारित हुन्छ, नेपालको कानून मातहत हुन्छ (भिडियो रिपोर्टसहित)

५ कात्तिक २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) पास हुने बताउनु भएको छ ।
बेमौसमी वर्षाका कारण बाढी र पहिरोले पुर्याएको क्षति अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानून मातहत हुने भएकाले कुनै आशंका गर्न नपर्ने बताउनुभयो ।
एमसीसीको बारेमा झुटो प्रचार गरिएको उहाँको भनाइ छ । अनुदानको कार्यक्रममा एउटा तत्वले धेरै होहल्ला गरेको र सित्तैमा दिन्छु भन्दा पनि अनुदान लिन नचाहेको देउवाको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले बाढी पहिरोले धेरै क्षति पुर्याएको भन्दै अल्पकालीन र दीर्घकालीन राहात र पुनर्निर्माणको योजना ल्याउने आश्वासन दिनुभयो ।
पार्टीको महाधिवेशन निर्धारित समयमै होला त भन्ने पत्रकारको प्रश्नमा कांग्रेस सभापतिसमेत रहेका देउवाले यो सबै जिम्मेवारी निर्वाचन समितिलाई दिइएको भन्दै पन्छिनुभयो ।
बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न हिजो सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले आज कैलाली र बर्दियाका प्रभावितलाई भेट्ने कार्यक्रम छ ।
प्रतिक्रिया