Main News

बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ७७ पुग्यो, २६ जना अझै बेपत्ता

हिमालय टिभी
२०७८ कार्तिक ४ गते ८:५०
बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ७७ पुग्यो, २६ जना अझै बेपत्ता

४ कात्तिक २०७८ काठमाडौं । लगातारको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ । २६ जना बेपत्ता भएका छन् भने २२ जना घाइते भएका छन् ।

गृहमन्त्रालयका अनुसार पहिरोले सबैभन्दा बढी मानवीय क्षति पाँचथरमा पुर्‍याएको छ । पहिरोमा परी पाँचथरमा मात्रै २४ जनाको मृत्यु हुँदा ६ जना घाइते भएका छन् ।

पाँचथरपछि बढी मानवीय क्षति हुने जिल्ला इलाम बनेको छ । इलाममा पहिरोमा परी १३ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् भने ३ जना बेपत्ता छन् ।

यस्तै डोटीमा पहिरोमा परी १२ जनाको मृत्यु भएको छ, ५ जना घाइते छन् । यस्तै पहिरोमा परी धनकुटामा ७, हुम्लामा ६, बैतडीमा ४ जनाको मृत्यु भएको छ ।

पहिरो र बाढीमा परी बझाङ, सुनसरी र उदयपुरमा २–२ जना तथा कालीकोट, डडेलधुरा, प्युठान, सोलुखुम्बु र मोरङमा एकएक जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परी पाँचथरमा ६, धनकुटा र डोटीमा ५–५, बैतडी र इलाममा २–२, कालीकोट र डडेलधुरामा एकएक जना घाइते भएका गृहमन्त्रालयले जनाएको छ ।

सरकारले सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन गरी विपद प्रभावितहरूको खोज, उद्दार र राहतको कार्य तीव्र रूपमा गरिरहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गरी बझाङ, धनकुटा, इलाम, पाँचथरलगायतका जिल्लामा सेनाको हेलिकोप्टरमार्फत घाइतेको उद्धार र राहत सामग्री ढुवानी गरिएको जानकारी दिनुभएको छ ।

खोज तथा उद्धार र राहतको कामलाई प्रभावकारी बनाउन सेनाका हेलिकोप्टरका साथै आवश्यकताअनुसार निजी क्षेत्रको हेलिकोप्टर पनि प्रयोग गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *