राजनीति

नेताको अशोभनीय माला मोह, कार्यकर्ताकाे चाकडी चरित्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ३ गते २०:४२
नेताको अशोभनीय माला मोह, कार्यकर्ताकाे चाकडी चरित्र (भिडियो रिपोर्टसहित)

३ कात्तिक २०७८ काठमाडौं । नेपालमा नेताको घाँटीमा मालाको भारी नै झुन्डाइदिएर चाकडी गर्ने प्रचलन निकै बढेको छ । पछिल्लो समय यो एउटा विकृत संस्कारकै रुपमा विकसित हुँदैछ ।

यस्तै विकृत चाकडी मोह गृहमन्त्री बालकृष्ण खाँडमा पनि देखियो । यतिबेला उहाँ आफ्ना कार्यकर्ताले लगाइदिएको ठूलो मालासहितको तस्विरमा समाजिक सञ्लालभरि हाँसोको पात्रका रुपमा छ्याप्छायाप्ती छाउनु भएको छ ।

रुपन्देहीको मोतीपुरमा प्रहरीको गोली प्रहारबाट ४ सर्वसाधारको मृत्यु भएको घटना सेलाएको छैन । नागरिकको रक्षक प्रहरीको गोली खाएर आफन्त गुमाएकाहरु आँशुको आहालमा छन् ।

यही जिल्लामा नेपाली कांग्रेसका कार्यकर्ताले प्रहरीकै विभागीय बोस गृहमन्त्री बालकृष्ण खाँणलाई ९९ किलोको मालाले अभिनन्दन गरेका छन् । आम नागरिकलाई न्यायको दिशा निर्देश गर्ने पहिलो जिम्मेवार निकाय प्रहरी प्रशासनको नेतृत्व गरेका खाँणलाई किन बडेमानको माला ओढाएर अभिनन्दन गर्नुपरेको हो ?सर्वत्र प्रश्नहरु उब्जिएका छन् ।

रुपन्देही बेमौसमी वर्षाले डुबेको छ, किसानको धान खेतमा रुवावासी छ, अनि गृहमन्त्री कार्यकर्ताको चाकडीको माला लगाएर भ्यागुतो निलेको सर्पजस्तो गजक्क फुल्नुभएको छ। देशभर चाडका बेला भएका दुर्घटनादेखि बेमौसमको वर्षाले सयौंले ज्यान गुमाउँदा प्रत्यक्ष निर्वाचन लड्न डराएर समानुपातिकबाट सांसद र मन्त्री बन्नुभएका खाँण ९९ किलोको मालाले पुरिनुभएको छ।

खाँणको नामै लिएर सामाजिक संजालमा प्युठानका एक कांग्रेसी कार्यकर्ताले त प्रहरीमा दर्जनौंलाई जागिर लगाइदिएकोमा धन्यवाद दिएका छन् । खाँणले कम्तिमा पनि त्यो माला किन्ने पैसासमेत चाकडीवाज कार्यकर्ताले कुन सरकारी कार्यालयलाई धम्काएर चन्दा ल्याएका हुन् समेत ख्याल गर्नुभएन ।

सरकारमा बसेर गर्ने न्यूनतम कार्यसम्पादनमा समेत अलमलिएको सरकारका मन्त्रीले देश रोइरहेकै बेला लगाएको अशोभनीय मालाको ज्याला त कायर्कर्ताले बुझे होलान् तर विपत्तिले अतालिएका नागरिक भने यस्तो हर्कतमा जिब्रो टोक्ने र नेताहरुको विकृत चरित्रले देशको सुदूर भविस्य सम्झेर भाग्यलाई दोष दिने बाहेक केही गर्न सकेका छैनन् ।

वर्तमान सरकारकै अर्का मन्त्री रामसहाय प्रसाद यादव पनि ठूलै माला लगाएर सामाजिक सञ्जालमा मजाकको पात्र बनिरहनु भएको छ । नेपालका नेतामा माला मोह एउटा नमिठो प्रथाकै रुपमा रहेको छ । नेताको चाकडीमा ठूलै माला उनेर पर्खिने कार्यकर्ता र ठूलै मालाले छोपिएपछि आश्वासनको विस्कुन ओहिर्‍याएर फर्किने नेता छ्याप्छ्याप्ती छन् ।

विद्यालय भवन उद्घाटनमा जनताको करको पैसा खर्चेर हेलिकोप्टरमा सयर गर्ने कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, विद्यार्थीको साइकल खरिदमा अनियमितताको आरोप खेपेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतदेखि उधारा सपनाहरुमा राष्ट्रवादको नारा घोलेर जनतालाई पिलाउन सफल तत्कालीन प्रधानमन्त्री केपी ओलीसम्मले आफूलाई चाकडीको मालाबाट बाहिर राख्न सकेका छैनन् ।

असल कर्मबाट फल प्राप्त हुन केही समय कुर्नुपर्छ भन्ने सर्वव्यापी मान्यता छ । तर विवेकहीनहरुको घेराभित्र मात्र रमाउने, आम समस्याहरुसँग कहिल्यै साक्षात्कार नगर्ने, आलोचना गर्नेहरुलाई विरोधी मात्र देख्ने, चुनावमा जाँदा गरेका आफ्ना वाचा र प्रतिबद्धताहरु मतगणना सकिएकै दिन मतपत्रसँगै सेलाउने नेतागण ४–५ जनाको भिडले चढाउने १० किलो, १५ किलो, २० किलो, ५१ किलो, ९९ किलो, सय किलो, १ सय ५० किलो वा अझै धेरै ठूलो मालामा रमाउने गरेका छन् ।

रंगीन फूलहरुले बेरिएको डरलाग्दो चाकडीको साङ्लोमा बाँधिने नेताहरु न मालाको जालो चिन्छन् न जनताको पिरलो सुन्छन् । माला लगाउनयोग्य काम गरेको छैन भन्ने बुझ्दाबुझ्दै यत्रो आलोचनाको बोझ किन बोक्नु परेको होला ? अनि नेताहरुको गलाको मालामा आफ्नो भविस्य देख्ने कार्यकर्ता यस्तो कुरामा जिम्मेवार कहिले बन्ने होलान् ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्