Main News

विवादमै बित्यो सरकारको मधुमास (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ३ गते २०:३७
विवादमै बित्यो सरकारको मधुमास (भिडियो रिपोर्टसहित)

३ कात्तिक २०७८ काठमाडौं । पछिल्लो निर्वाचनपछि प्रत्यक्षमा मात्र २३ सिट जितेको नेपाली कांग्रेस कम्तिमा ५ वर्ष प्रतिपक्षमा बस्न तयारै थियो । सत्ता संचालनमा न कांग्रेसको आश थियो न सम्भावना ? राजनीति अथाह सम्भावनाको खेल हो भन्ने उक्ती पुष्टि भयो , कम्युनिष्टहरुको घरझगडाका कारण कांग्रेसकै नेतृत्वमा सरकार बनेको १०० दिन पुगेको छ । तर सरकारका नाममा सरकार फेर्ने र सिंहदरबारमा फोटो झुण्डाउनेबाहेक सरकारले १०० दिनमा तात्विक काम गर्न नसकेको आरोप छ।

व्यक्तिगत चाहनाले भन्दा पनि कम्युनिष्टहरुको घरझगडाले कांग्रेस सभापति शेरबहादुर देउवालाई पाँचौपटक प्रधानमन्त्री पद किस्तीमा आएको हो । पाँच दलीय गठबन्धन सहभागी सरकार बनेको १०० दिन पुगेको छ। यो सरकार विशेष र विषम परिस्थितिमा बनेकैले वर्तमान सरकारलाई हनिमुनको सुविधा छैन ।

संसदीय व्यवस्था भएको मुलुकमा सरकारको सय दिनसम्म ‘हनिमुन पिरियड’ भनेर आलोचना नगर्ने परम्परा छ । तर, देउवा नेतृत्वको सरकार यसबीचमा विवाद र आलोचनाको भूँमरीमा परेको छ, मानौं आलोचना बाहेकमा सरकार अभ्यस्त नै छैन । तर सरकारका गृहमन्त्री बालकृष्ण खाँड भने वर्तमान सरकारले लय नछाडेको र संविधान रक्षामा खास काम गरेको जिकीर गर्नुहुन्छ ।

देउवा नेतृत्वको सरकारले पूर्णता पाउन नै ८८ दिन लाग्यो । गैरसांसदलाई मन्त्री बनाएको भन्दै देउवा सरकारको आलोचना मात्र भएन विगतमा प्रजातन्त्र दरबारमा बुझाएको आरोप लागेका प्रधानमन्त्री देउवालाई यसपटक लोकतन्त्र अदालतमा बुझाएको आरोप लाग्यो ।

सरकारले एमाले विभाजन गर्नैका लागि दलसम्बन्धी अध्यादेश ल्यायो । विगतमा ओली सरकारले ल्याएको अध्यादेशलाई समेत माथ ख्वाउने गरी अध्यादेश ल्याएर सरकारले संविधानलाई सरकार र बहुमतको खल्तीको रुमाल बनाइदियो ।

यो अवधिमा आफ्ना कार्यकर्ता नियुक्तिका लागि विगत ओली सरकारका नियुक्ति खारेजीमा सरकार अब्बल देखियो । तर गठबन्धनको धार्नी न बिसौलीका कारण कतिपय नियुक्ति समेत अलमलमा परेका छन् । भूमिसम्बन्धी आयोग अनावश्यक भनेर खारेज गरेको सरकारले कार्यकर्ता भर्ती गर्न र राज्यको स्रोत र साधन दोहन गर्न पुनः आयोग मात्र बनाएन, त्यहाँ पनि भर्तीको अभियान आरम्भ गर्‍यो । देउवा सरकारको मधुमासमै दार्चुलामा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटेर नेपाली नागरिक जयसिंह धामी बेपत्ता भएपनि सरकारले घटनाको छानबिनभन्दा घटना दबाउन बढी बल लगायो ।

यहीबीचमा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको मुद्दामा पनि देउवा सरकार असफल देखियो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरू देउवा नेतृत्वको सरकार सर्वथा असफल भएको दाबी गर्छन् ।

प्रमुख प्रतिपक्षी एमाले नेताहरुको आरोपलाई कांग्रेस नेताहरु भने मान्न तयार हुनुहुन्न । खासगरी कांग्रेसभित्र देउवा खेमाका नेताहरु सरकार सफलताको बाटोमा अघि बढेको र १०० दिनमा सरकारको परीक्षण नहुने बताउनुहुन्छ ।

असोज मसान्तसम्म एक तिहाइ जनसंख्यालाई कोरोनाविरुद्धको खोप लगाउने र यसै वर्षको चैत मसान्तसम्ममा सबै नेपालीलाई खोप लगाउने देउवा सरकारको प्राथमिकता र लक्ष्य थियो । खोपको काम सन्तोषजनक अघि बढेको देखिन्छ । यही बीचमा बेमौसमी वर्षा र बाढीले पनि ताल बिग्रेको सरकारका सय दिन बिर्सन लायक भएपनि बाँकी समयमा जनताले सम्झन लायक काम गरोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *