Main News

टीका लगाएर विद्यार्थी नेता बनेकाहरुबाट के आशा गर्ने ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ३ गते १७:०७
टीका लगाएर विद्यार्थी नेता बनेकाहरुबाट के आशा गर्ने ? (भिडियो रिपोर्टसहित)

३ कात्तिक २०७८ काठमाडौं । नेपालका विद्यार्थी संगठनहरुले शैक्षिक मुद्दा उठाउन छाडिसकेको वर्षौ भइसकेको छ । पार्टी नेतृत्वको झोला बोक्ने र गुणगान गाएकै भरमा टीका लगाएर सजिलै विद्यार्थी नेता हुन पाउने भएपछि विद्यार्थी नेताका लागि अध्ययन गरेर ज्ञान आर्जन गर्नुपर्ने बाध्यता पनि हटेको छ ।

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) का पूर्व नेता हुनुहुन्छ लेखनाथ न्यौपाने । उमेर र अवस्था अनुसार न्यौपाने पछिल्लो समय विद्यार्थी आन्दोलन, पार्टी राजनीतिभन्दा पुस्तक लेखनमा बढी केन्द्रीत हुनुहुन्छ ।

उहाँले लेखेका पुस्तक विद्यार्थी र विद्यार्थी आन्दोलनमा लागेका व्यक्तिहरुलाई बढी काम लाग्ने खालका छन् । न्यौपानेका हालसम्म १० भन्दा बढी पुस्तक प्रकाशित भैसकेका छन् । न्यौपाने र न्यौपानेजस्ता धेरै लेखक श्रष्टाले पुस्तक त प्रकाशन गर्नुभएको छ, बिडम्बना जसका लागि पुस्तक लेखिएको हो , उनीहरुले न पुस्तक पढ्छन् न पुस्तकका विषयमा चासो नै छ।

विगतमा अभावका बीच पनि विद्यार्थी नेताहरुले अध्ययन गर्थे । आफ्नो ज्ञानको दायरा फराकिलो पार्दथे । तर पछिल्लो पुस्ताको विद्यार्थी नेतृत्वमा पठन संस्कृति मृत प्रायः रहेको न्यौपानेको भनाइ छ ।

शैक्षिक र जनसरोकारका मुद्दा उठाएर इतिहास कायम गर्न सफल विद्यार्थी आन्दोलन त सुस्ताएकै छ, विद्यार्थी नेताहरुको प्राथमिकतामा शैक्षिक मुद्दा पर्नै छाड्यो । उनीहरुको प्राथमिकतामा अहिले नेताहरुलाई रिझाएर आफ्नो फाइदा लिने, ठेक्कापट्टा गर्ने र शैक्षिक माफियासँग लेनदेन गर्नेमा बढी देखिएको आरोप लाग्न थालेको छ ।

विद्यार्थीहरुको नेतृत्व आजभोलि विद्यार्थीले चुन्ने नभई पार्टी नेतृत्वले टीका लगाइदिने प्रणालीमा रुपान्तरण भएको छ । नेताहरुको आर्शिवादबाट पद पाइने भएपछि मेहनत गरिरहने झण्झट किन र कसले पो लियोस् ? आजका विद्यार्थी नेतृत्वबाटै भोलि देश हाँक्ने प्रधानमन्त्री, मन्त्री, सांसद बन्ने हुन् तर उनीहरुको चाला खुट्टी देख्दा चाल पाइयो खालको छ ।

देश हाँक्न र देशलाई अगाडी बढाउन किताब मात्रै नभएर समाजको राम्रो अध्ययन र जानकारी हुनु आवश्यक छ । त्यसका लागि विद्यार्थी नेताहरुले अध्ययनको दायरा फराकिलो बनाउन आवश्यक रहेकोमा विश्लेषकहरुको जोड छ ।

भोलिका देश हाँक्ने अहिलेको पुस्ताले ज्ञानको मूल स्रोत पठनपाठनतर्फ ध्यान नदिनु उनीहरुका लागि व्यक्तिगत हानी त हो नै, देशका लागि आवश्यक जनशक्तिमा पनि क्षयीकरणको उच्चतम् अवश्था हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *