बाढीका कारण प्रदेश १ का जिल्लामा विद्युत आपुर्ति ठप्प
३ कात्तिक २०७८ काठमाडौं । सुनसरीको दुहबी सबस्टेशन डुबानमा परेपछि प्रदेश १ का जिल्लामा विद्युत आपुर्ति ठप्प भएको छ ।
प्रदेश १ का जिल्लाहरूमा विद्युत आपूर्ति गर्ने मुख्य दुहबी सबस्टेशन डुबानमा परेपछि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुरलगायतका जिल्लामा विद्युत आपूर्ति बन्द भएको हो ।
सबस्टेशनको पानी हटाउनका लागि सहयोग गरिदिन नेपाल विद्युत प्राधिकरणले अनुरोध गरेको छ । दुहबी सबस्टेशन बन्द हुँदा काबेली करिडोर १३२ केभी प्रसारण लाइन पनि बन्द भएको छ ।
यसबाट काबेली करिडोरमा जोडिएका झन्डै १७० मेगावाटका जलविद्युत आयोजनाहरूको विद्युत उत्पादन पनि बन्द भएको छ । वर्षाका कारण विभिन्न स्थानमा रुख ढल्दा अत्तरिया–चमेलिया १३२ केभी प्रसारण लाइन र अन्य ३३ तथा ११ केभी लाइनमा क्षति पुगेको छ ।
दार्चुलामा सञ्चालन रहेको ३० मेगावाटको चमेलियालगायतका जलविद्युत आयोजनाको विद्युत उत्पादनसमेत बन्द भएको छ । सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, बझाङ, अछामलगायतका पहाडी जिल्लाको विद्युत आपूर्तिसमेत बन्द भएको छ ।
प्रतिक्रिया